देशभर मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

काठमाडौँ, २८ साउन

देशभर मनसुन सक्रिय बनेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा तराई आसपास रहँदा आगामी २४ घण्टामा मनसुन सक्रिय रहने जानकारी दिएको छ । आज दिउँसो देशका अधिकांश स्थानहरू पूर्णतया बदली हुने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार देशका धेरै क्षेत्रहरूमा मध्यम वर्षा हुने सम्भावना छ भने मधेस प्रदेश, कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र केही स्थानमा मुसलधारे वर्षा हुने सम्भावना पनि रहेको छ । कर्णाली प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षाको चेतावनी जारी गरिएको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा पूर्णतया बदली रहनेछ भने बाँकी क्षेत्रमा सामान्य बदली रहने पूर्वानुमान छ । गण्डकी, कर्णालीका पहाडी क्षेत्रहरू र लुम्बिनी तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुने अपेक्षा गरिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुने जोखिम रहेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशका तराईका केही स्थान र गण्डकी तथा कर्णालीका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण पहाडी भेगमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढेको र ठूला तथा साना नदी नाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन र पूर्वतयारी गर्न सबैलाई अनुरोध गरेको छ ।

यातायातमा समेत अवरोध आउन सक्ने सम्भावना रहेकोले सचेत रहन महाशाखाले चेतावनी दिएको छ ।

Facebook Comments Box