ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

लुम्बिनी, २८ साउन

बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि श्रद्धा र आस्थाको केन्द्र हो । विश्वभर शान्तिको प्रतीक मानिने लुम्बिनी नजिकै रहेको मर्चवारको अमकोहिल नगर ‘देवदह’ अझै ओझेलमा परेको छ । स्थानीयहरूले रुपन्देहीको मर्चवारी–२ स्थित ‘सगरा’ नामक प्राचीन पोखरीलाई वास्तविक देवदहको रूपमा दाबी गरिरहेका छन् ।

सामाजिक अभियन्ता लक्ष्मी थारूका अनुसार, “बुद्धको मावलीको खोज तीव्र भए पनि यस क्षेत्रको इतिहास र भूगोलप्रति सम्बन्धित निकायहरूको चासो कम छ । नयाँ ‘देवदह’ लाई प्राथमिकता दिँदा वास्तविक कोलियग्रामको तथ्य ओझेलमा पर्ने प्रयास भएको छ ।”

इतिहासकार एलेक्जेण्डर कनिङ्घमले आफ्नो १८७१ को कृति ‘प्राचीन भारतको भूगोल’ मा अमकोहिललाई कोलीय राजधानीको सम्भावित स्थान उल्लेख गरेका छन् । स्कटिस इतिहासकार फ्रान्सिस बुकानन–ह्यामिल्टनले पनि सन् १८१९ मा प्रकाशित आफ्नो पुस्तकमा लुम्बिनी वरपरका प्राचीन स्थलहरूको पुरातात्विक महत्वबारे चर्चा गरेका छन् ।

भारतीय लेखक डा विजय श्रीवास्तवले आफ्नो ‘कपिलवस्तु–लुम्बिनी दिग्दर्शन’ (१९५४) मा अमकोहिल नगरलाई प्राचीन देवदहको सम्भावित अवशेष भएको उल्लेख गरेका छन् । साथै, स्थानीय बौद्ध भिक्षुहरू धम्म शिद्धी र विवेकान्द पाण्डेयले पनि मर्चवार क्षेत्रलाई बुद्धकालीन सभ्यता र सांस्कृतिक सम्पदाको मुख्य केन्द्र मान्दै आएका छन् ।

चिनियाँ तीर्थयात्री फाहियानले १६०० वर्षअघि यहाँका धार्मिक स्थलहरूको विवरण ‘फो क्वो कि’ मा उल्लेख गरेका थिए । यस क्षेत्रका भग्नावशेष, स्तुप तथा देव निर्मित सगरा पोखरी ऐतिहासिक प्रमाणका रूपमा महत्वपूर्ण छन् । लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले पनि मर्चवार क्षेत्रलाई प्राचीन देवदहको सम्भावित अवशेष क्षेत्र भएको पुष्टि गर्दै व्यवस्थित अनुसन्धान, सर्वेक्षण र संरक्षण आवश्यक रहेको बताए ।

सामाजिक अभियन्ता र संयोजक अकरम खाँले यस क्षेत्रलाई धार्मिक मात्र नभई नेपालकै गौरवको रूपमा विकास गर्नुपर्ने बताए । मर्चवार गाउँपालिका अध्यक्ष गयाप्रसाद बरइले पनि यहाँको उत्खनन र संरक्षणले पर्यटन प्रवर्द्धनसहित स्थानीय रोजगार र आयमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

शाक्य वंशका सिद्धार्थ गौतमकी आमा मायादेवी, सानीमा प्रजापति गौतमी र यशोधराको जन्म अमकोहिल नगरमा भएको बौद्ध साहित्य र ऐतिहासिक सन्दर्भले संकेत गर्छन् । देउरवा स्तुप, महिषासुर मर्दनी स्तुपा, मकुनगढकी समयमाई लगायतका स्थलहरू यहाँका ऐतिहासिक धरोहर हुन् । यी सबै तथ्यले मर्चवार–२ अमकोहिललाई बुद्धको मावली र प्राचीन देवदहको रूपमा पुनः स्थापित गर्नुपर्ने माग उठिरहेको छ ।

Facebook Comments Box