गणतन्त्रको जगमा उभिएर समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको छः राष्ट्रपति पौडेल
काठमाडौँ, २७ साउन
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर समृद्ध नेपाल निर्माण गर्ने युगीन जिम्मेवारी युवाको काँधमा आइसकेको बताउनुभएको छ।
अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले युवाले यो जिम्मेवारी पूरा गर्न सक्ने क्षमता राखेको विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रपति पौडेलले आफ्नो युवावस्थाको सङ्घर्ष स्मरण गर्दै अविकास, गरिबी, पछौटोपन र निरङ्कुशताविरुद्धको यात्राबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मको यात्रा सजिलो नभएको बताउनुभयो। उहाँका अनुसार, क्रान्ति र परिवर्तनको कालखण्ड पार गरेर मुलुक आजको राजनीतिक व्यवस्थासम्म आइपुगेको हो।
प्रविधि, खेलकुद, मनोरञ्जन र उद्यमशीलतासहितका क्षेत्रमा नेपाली युवाले उत्कृष्टता देखाइसकेकाले यस सामर्थ्यलाई दिगो विकास र देशको नवनिर्माणतर्फ लगाउनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो।
उहाँले प्रविधिसँग अभ्यस्त युवालाई स्वदेशमै अवसर दिलाउन सरकारले सहुलियतपूर्ण कर्जा, युवामैत्री लगानी वातावरण र नवप्रवर्तनलाई प्राथमिकता दिएको जानकारी दिनुभयो। साथै, उद्यमशीलता विस्तारमार्फत विदेश पलायन रोक्ने आवश्यकता औंल्याउनुभयो।
राष्ट्रपति पौडेलका अनुसार, अन्तर्राष्ट्रिय युवा दिवसले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्मको युवा सहभागितामार्फत दिगो विकास र ऐक्यबद्धतालाई बल पुर्याएको छ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधिको समेत उपस्थिति थियो।

