जलवायु संकट न्यूनीकरणका लागि अन्तरदेशीय सहकार्य आवश्यक

काठमाडौँ, २६ साउन

जलवायु विज्ञहरूले हिम जलाधार क्षेत्रमा बढ्दो जोखिम कम गर्न अन्तरदेशीय सहकार्य अपरिहार्य रहेको बताएका छन्। नेपाल वातावरण पत्रकार समूहद्वारा आयोजित अन्तरक्रियामा वक्ताहरूले सीमापार पूर्वसूचना सम्प्रेषण र अन्तरनिकाय समन्वयको अभावले जलवायुजन्य प्रकोपमा जनधनको क्षति बढाइरहेको बताए।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का जलवायु तथा वातावरण विभाग प्रमुख डा. चाङ छ्याङकोङले जलवायुजन्य घटनामा अध्ययन–अनुसन्धान र विकसित देशबाट अल्पविकसित मुलुकलाई प्रविधि तथा ज्ञान हस्तान्तरण आवश्यक रहेको उल्लेख गरे।

जलवायुविज्ञ डा. धर्म उप्रेतीले बहुप्रकोपका घटनामा नेपाल एक्लैले समाधान गर्न नसक्ने बताउँदै भारत र चीनका अनुभवबाट सिक्नुपर्नेमा जोड दिए। हिमबाढी अध्येता श्रीकमल द्विवेदीले हिमताल फुट्ने बाहेक अन्य कारणले पनि हिमबाढी आउने भएकाले यसतर्फको अनुसन्धान बढाउन आग्रह गरे।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी वातावरण निरीक्षक रिना चौधरीले जोखिम न्यूनीकरण र घटनापछिको सहजीकरणमा प्राधिकरण सक्रिय रहेको बताइन्।

पूर्वअध्यक्ष कसमस विश्वकर्मा र वातावरणविद् डा. विनोद भट्टले प्रकोप न्यूनीकरणका लागि पत्रकार र सञ्चार माध्यमलाई समयसापेक्ष तालिम तथा कार्यशाला आवश्यक रहेको सुझाव दिए।

Facebook Comments Box