पर्वतमा जेठो बुढो धानमा ब्लाष्ट रोगको संक्रमण फैलिँदै
पर्वत, २३ साउन
फलेवास नगरपालिकाका विभिन्न वडामा जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग फैलिएको छ। मुडिकुवा, खानीगाउँ र देवीस्थानलगायत क्षेत्रमा पात सुक्ने, डाँठ र जरा सुक्ने समस्या देखिएको कृषकहरू बताउँछन्। फलेवास नगर कृषि सञ्जालका अध्यक्ष विनोद भुसालका अनुसार सयौँ रोपनी खेतमा ब्लाष्ट रोग फैलिएको छ र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम बागलुङको प्राविधिक टोलीले अनुसन्धान गरिरहेको छ।
गत वर्षको गुबो कुहिने र ढुसी किराको प्रकोपपछि यस वर्ष ब्लाष्ट रोगले थप समस्या निम्त्याएको छ। अधिकांश संक्रमित क्षेत्रहरू फलेवासका तीन वडामा देखिए पनि अन्य वडामा समेत संक्रमण फैलिएको छ। अध्यक्ष भुसालले कृषकलाई प्राविधिक सहयोग र रोगको निदानका लागि पहल भइरहेको जानकारी दिनुभयो।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्राविधिक ललित सुनारले ‘राइस ब्लाष्ट’ र ‘ट्राइसिक्लाजोल’ विषादी सिफारिस गरेका छन्। एक ग्राम विषादीलाई एक ग्राम पानीमा घोलेर छर्किएपछि एक साताभित्र सुधार आउने प्राविधिक सुनारले जानकारी दिनुभयो।
गत वर्ष पनि ब्लाष्ट रोगले केही क्षति पुर्याएको थियो। कृषकहरूलाई विषादी निःशुल्क उपलब्ध गराइएको छ। कृषि ज्ञान केन्द्र पर्वतकी सूचना अधिकारी सोविता सुवेदीले स्थानीय तह, ज्ञान केन्द्र र राष्ट्रिय कार्यक्रमबीच सहकार्य जारी रहेको बताउनुभयो।

