ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै, स्थानीय जनता आक्रोशित

ललितपुर, २३ साउन

ललितपुरका विभिन्न वडामा खानेपानीको अभाव जटिल बन्दै गएको छ। भैँसेपाटी क्षेत्रका वडा नं २५ र १८ का उपभोक्ताले करिब तीन हप्ता पानी नपाएको गुनासो गरेका छन्। २१ दिनसम्म खाली धारालाई नियालेर बसेका स्थानीयहरू दैनिकजसो ललितपुर वितरण केन्द्र पुगेर समस्या सुनाउँदै आएका छन्।

त्यस्तै, वडा नं २२ र २१ (बुङ्गमती क्षेत्र) मा पनि लामो समय पानी नआएपछि स्थानीयले टाढा टाढा पानीको मूल खोजेर बोकेर ल्याउन बाध्य भएका छन्। गत वर्षको असोजमा आएको बाढीले पाइपलाइन विच्छेद गरेको र त्यसपछि समस्या झनै विकराल भएको स्थानीयले बताएका छन्।

सामान्य नागरिकलाई पानी पुग्न नसकेको अवस्थामा केही विशिष्ट व्यक्तिका घरमा मात्र उपत्यका खानेपानी लिमिटेड (केयुकेल)का ट्याङ्करबाट पानी पुर्याइएको बताइएको छ। यसले असमानता बढाएको स्थानीयले गुनासो गरेका छन्। वडा नं २५ का अध्यक्ष दौलतकुमार खत्रीका अनुसार निरन्तर गुनासो गर्दा पनि समस्या एक महिनासम्म समाधान नहुँदा स्थानीय आक्रोशित भएका थिए। दुई सातापछि मात्रै पानी व्यवस्था गर्न सकिएको उनले बताए।

उक्त क्षेत्रका वडाध्यक्ष रवीन्द्र महर्जनले बाढीले पाइपलाइनमा क्षति पुगेको र तत्कालै समाधान नगरेको कारण समस्या बढेको स्वीकार्नुभयो। उहाँ आफैले पनि दुई सातासम्म पाइप जडानमा काम गरी केही राहत दिलाएको जानकारी दिनुभयो।

समाजसेवी देवेन्द्रकुमार गौतमले पानीमा राजनीतिक हस्तक्षेपले समस्या झनै गहिरो भएको र राज्य गम्भीर नभएको आरोप लगाउनु भयो। केयुकेल ललितपुर शाखाका प्रमुख विजय विश्वकर्माका अनुसार ललितपुरमा करिब ५० हजार धारा जडान गरिएका छन्। तर गत वर्षको बाढीले पाइपहरूमा क्षति पुगेपछि पानीको आपूर्ति पर्याप्त हुन सकेको छैन। मेलम्ची आयोजनाबाट पनि पानी पूर्ण रूपमा उपलब्ध नहुँदा समस्या बढेको उनले बताए।

ललितपुर–१३ कुसुन्तीका धनराज घिमिरेले हप्तामा करिब एक घण्टा मात्र पानी आउने गुनासो गर्दै भने, “महिनामा दुई ट्याङ्कर पानी किनेर प्रयोग गर्छु, तर महसुल भने तिरिरहेछु।” वडा–१३ का अध्यक्ष गणेश केसीले पुराना पाइप क्षतिग्रस्त भएर नयाँ पाइप जडानको काम भइरहेको र काम सम्पन्न भएपछि पानी समस्या समाधान हुने बताउनुभयो। स्थानीयहरूले भने मन्त्री आवासमा मात्र पानी पुग्ने, जनताका घरमा नपुग्ने विषयमा आक्रोश पोखेका छन्।

भैँसेपाटीका रामहरि थापाले पानी नआएको दिन पनि महसुल तिर्न बाध्य हुनु परेको गुनासो सुनाउनुभयो। केयुकेलका अनुसार फर्पिङ स्टिम र चापागाउँबाट पर्याप्त पानी आउन सकेमा ललितपुरमा पानीको अभाव समस्या समाधान हुने छ। कार्यालय प्रमुख विश्वकर्माले स्थानीय मुहानहरू व्यवस्थित गर्नुपर्ने र दीर्घकालीन समाधानका लागि स्रोत संरक्षण आवश्यक रहेको बताउनुभयो।

Facebook Comments Box