मातृस्वास्थ्य प्रवर्द्धन गर्न सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज
सिरहा, २३ साउन
मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधारका उद्देश्यले लहान नगरपालिका–२१ का ६४ जना गर्भवती र सुत्केरी महिलालाई पोषण प्याकेज वितरण गरिएको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार आयोजित कार्यक्रममा उक्त प्याकेज हस्तान्तरण गर्नुभयो।
नगरपालिकाले प्रत्येक महिनामा फरक–फरक वडामा पुगेर यस्तो प्याकेज वितरण गर्दै आएको छ। प्याकेजमा चामल, दाल, नुन, तेल, चना लगायतका खाद्यान्नसँगै गर्मी र वर्षायाममा देखिने लामखुट्टेको प्रकोपबाट जोगिन झुल पनि समावेश गरिएको छ।
कार्यक्रममा नगरप्रमुख चौधरीले गर्भवती र सुत्केरीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पोषण अवस्था सुधार र स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले आगामी दिनमा यो अभियानलाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्वास्थ्यकर्मी अमृताकुमारी महतोका अनुसार, स्वास्थ्य संस्थामा नियमित जाँच गराउने गर्भवतीलाई लक्षित गर्दै प्याकेज वितरण गरिएको हो, जसका कारण पछिल्लो समय नियमित जाँचमा सहभागी हुने महिलाको संख्या उल्लेखनीय रूपमा बढेको छ। महिला स्वास्थ्य स्वयंसेविका सुजितादेवी सिंहले यो अभियानले गर्भवती महिलाको तथ्यांक व्यवस्थापन र सेवाको सहजीकरणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो।

