तनहुँमा एक वर्षमा ९ हजारभन्दा बढी पशुमा कृत्रिम गर्भाधान
दमौली, २२ साउन
तनहुँ जिल्लामा पशु नस्ल सुधारका लागि एक वर्षको अवधिमा ९ हजार ५५२ पशुमा कृत्रिम गर्भाधान गरिएको छ। जिल्लाका १० वटा कृत्रिम गर्भाधान केन्द्रमार्फत आर्थिक वर्ष २०८१/८२ मा यो संख्या पुगेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ।
पछिल्ला वर्षहरूमा कृषकहरू कृत्रिम गर्भाधानप्रति झनै आकर्षित भइरहेका छन्। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ८ हजार ११३ र २०७९/८० मा ७ हजार ९१६ पशुमा यो प्रविधि प्रयोग गरिएको थियो। केन्द्रका प्रमुख रविनसन अधिकारीका अनुसार, दुधालु गाईको नस्ल सुधार तथा उत्पादकत्व वृद्धि गर्न सरकारले कृत्रिम गर्भाधानलाई प्राथमिकतामा राखेको छ। यस प्रविधिबाट निम्न लाभहरू हुने बताइएको छ:
-
कम उत्पादन दिने स्थानीय पशुको उत्पादकता वृद्धि
-
प्रजननका लागि छुट्टै भाले जनावर पाल्नुपर्ने आवश्यकता हट्ने
-
हाडनाता प्रजननबाट हुने गुणस्तर ह्रासको जोखिम घट्ने
-
प्रजननमार्फत सर्ने रोगबाट पशुलाई बचाउन सकिने
उहाँका अनुसार, कृत्रिम गर्भाधान गरिएको पशुले करिब तीन वर्षभित्र उत्पादन दिन थाल्ने भएकाले जिल्लाभित्रै दुग्धजन्य उत्पादनमा वृद्धि हुने र बाहिरी जिल्लाबाट उन्नत पशु ल्याउनु नपर्ने अवस्था सिर्जना हुनेछ।
गाईमा उच्च संख्यामा गर्भाधान
जिल्लामा गाईमा सबैभन्दा धेरै गर्भाधान गरिएको छ। एक वर्षको अवधिमा:
-
गाई – ५,०३७
-
भैँसी – ४,४१७
-
बाख्रा – ७६
-
बङ्गुर – २२
स्थानीय तहअनुसार कृत्रिम गर्भाधानको संख्या
| पालिका | गर्भाधान संख्या |
|---|---|
| भेटेरिनरी अस्पताल केन्द्र | २,०८५ |
| व्यास नगरपालिका | ३४५ |
| भानु नगरपालिका | ६८८ |
| भिमाद नगरपालिका | ६०६ |
| शुक्लागण्डकी नगरपालिका | १,९६१ |
| बन्दीपुर गाउँपालिका | १,२२२ |
| आँबुखैरेनी गाउँपालिका | १,३४९ |
| म्याग्दे गाउँपालिका | ६१९ |
| देवघाट गाउँपालिका | ६६५ |
| ऋषिङ गाउँपालिका | १२ |
| घिरिङ गाउँपालिका | केंद्र छैन |
तीन हजारभन्दा बढी पशुको उपचार
केन्द्रले एक वर्षको अवधिमा तनहुँसहित छिमेकी जिल्लाबाट आएका ३,६९० बिरामी पशुहरूको उपचार गरेको छ। तीमध्ये:
-
व्यास — ३,०९९
-
म्याग्दे — २४९
-
ऋषिङ — १३५
-
बन्दीपुर — ७५
-
भानु — ६२
-
भिमाद — ७
-
देवघाट — ५
-
शुक्लागण्डकी — ८
-
आँबुखैरेनी — १
-
कास्की — १
-
गोरखा — ४
-
लमजुङ — ४४
गाई–भैँसीपालन घट्दो, बाख्रापालन बढ्दो
केंद्रका अनुसार हाल गाई र भैँसीपालनमा कमी आएको छ भने बाख्रापालन बढेको देखिएको छ। पछिल्लो वर्षमा:
-
गाईपालन घट्यो — २,४८२ ले
-
भैँसीपालन घट्यो — २,८८३ ले
-
बाख्रापालन बढ्यो — ४०३ ले

