सेवाग्राहीको पहुँचमा सेवा पुर्याउन सहरमै शिविर: धवलागिरिका जनप्रतिनिधि र कर्मचारी सक्रिय
म्याग्दी, २२ साउन
म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सेवाग्राही खोज्दै सहर झरेका छन्। सामाजिक सुरक्षा भत्ता, जन्मदर्ता, नाताप्रमाणित, नागरिकता सिफारिसलगायत सेवा सरल रूपमा प्रदान गर्न उनीहरूले घुम्ती सेवा शिविर सञ्चालन गरेका हुन्।
गाउँपालिकाले यसअघि साउन १८ र १९ गते काठमाडौँमा शिविर सञ्चालन गरिसकेको छ। त्यसपछि बुधबारदेखि प्रदेश राजधानी पोखराको नदीपुरमा रहेको नेपाल छन्त्याल संघको सभाहलमा सेवा सुरु गरिएको हो। गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरका अनुसार, पहिलो दिन करिब १५० जनाले सामाजिक सुरक्षा भत्ता सूची नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकता सिफारिसका सेवा लिएका छन्।
उहाँले भन्नुभयो, “हरेक वर्ष बायोमेट्रिकसहित लाभग्राही सूची नवीकरण अनिवार्य हुन्छ। तर बजार क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू, बिरामीहरू वर्षात्को समयमा गाउँसम्म पुग्न सक्दैनन्। त्यसैले हामी नै उनीहरू नजिक सेवा लिएर आएका हौँ।”
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले समेत जनप्रतिनिधि र वडासचिवहरू सहर झरेर सेवा दिइरहेको जानकारी दिनुभयो। शिविरमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सात वटै वडाका अध्यक्षहरू र तीन जना वडा सचिवहरू सेवा प्रदान गरिरहेका छन्।
पछिल्लो वर्ष भत्तामा रु १० करोडभन्दा बढी वितरण
गत आर्थिक वर्षमा धवलागिरि गाउँपालिकाका २,९३८ जनालाई रु १० करोड ५८ लाख ४ हजार २८८ बराबरको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो।
बसाइँसराइको प्रवृत्ति, तर प्रक्रिया अधुरो
सुविधा र अवसरका लागि सहरमा बसोबास गर्नेहरूको संख्या बढ्दो भए पनि धेरैले औपचारिक बसाइँसराइ प्रक्रिया पूरा गरेका छैनन्। अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाबाट ७६ परिवार बाहिरिएको र १० परिवार मात्र नयाँ रूपमा बसोबास गर्न आएको तथ्यांक छ।

