हावाहुरीले मकैबालीमा क्षति, किसान चिन्तित

भोजपुर, २१ साउन 

लगातारको वर्षासँगै आएको हावाहुरीले भोजपुर जिल्लामा मकैबालीमा ठूलो क्षति पुर्‍याएपछि किसानहरू गहिरो चिन्तामा परेका छन्। पाक्न लागेका मकैबोट ढलेर नष्ट भएपछि किसानको श्रम र आशामा गहिरो आघात पुगेको छ।

भोजपुर नगरपालिका–५ की किसान कमला थापाका अनुसार मकैमा भर्खर दाना परिसकेको अवस्थामा हावाले लडाएपछि पशुचौपायालाई खुवाउने बाहेक विकल्प नदेखिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “रोग, फौजी किरा र बाँदरलगायतका जङ्गली जनावरबाट जोगाएर लगाएको मकै अब हावाहुरीले सखाप पारेको छ। अबको आश मकैमै थियो, त्यो पनि गुमेको छ।”

दाँवा, बोखिम, मझौले, चोलन्ती, गोगने, तिम्मा, श्यामशिला लगायतका क्षेत्रमा मकैबालीमा व्यापक क्षति पुगेको स्थानीय कृषकहरू बताउँछन्।

मकै जिल्लाको दोस्रो प्रमुख खाद्य बाली मानिन्छ। तर पछिल्ला केही वर्षयता नियमित रूपमा कीरा, रोग, जनावर र प्राकृतिक विपत्तिका कारण मकै उत्पादन घट्दै गएको किसानहरूको भनाइ छ।

भोजपुरका नौवटै स्थानीय तहमा मकैखेती हुने गरेकामा यस वर्षसमेत उत्पादनमा गिरावट आउने सम्भावना रहेको अनुमान गरिएको छ।

Facebook Comments Box