माओवादीका कारण व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित भएको : अध्यक्ष दाहाल

काठमाडौँ, २१ साउन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको दबाब र भूमिकाका कारण अमेरिकी सहयोग परियोजना एमसिसी (MCC) व्याख्यात्मक टिप्पणीसहित पारित भएको दाबी गर्नुभएको छ।

निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले व्याख्यात्मक टिप्पणीसहितको पारितिले एमसिसी नेपालको हितमा रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “जनताका अगाडि सर्वसम्मत रूपमा व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित भएको हो। त्यो आफैँमा राष्ट्रिय स्वाधीनताका लागि आन्दोलन गर्ने ढोका बनेको छ। माओवादीले त्यसलाई जस्ताको तस्तै पारित हुन दिएन, त्यसो भएको भए आज हामीसँग बोल्ने ठाउँ नै रहने थिएन।”

दाहालका अनुसार अन्तर्राष्ट्रिय कानुनका जानकारहरूको सुझाव र भियनाका सन्धिहरू (Vienna Convention) का आधारमा “बोल्ने ठाउँ” रहनसक्ने जानकारी पाएपछि माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गराउन जोड दिएको थियो।

त्यस अवसरमा अध्यक्ष दाहालले एमसिसीको पक्ष र विपक्षमा धारणा बनाउनेहरूका लागि सो पुस्तक उपयोगी हुने बताउनुभयो। कार्यक्रममा पुस्तकका लेखक तथा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले “पार्टीले बाध्यात्मक परिस्थितिमा व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गराएको” उल्लेख गर्नुभयो।

साथै, सुरक्षा चासोसहित समग्र पक्षलाई समेटेर पुस्तक तयार गरिएको जानकारी दिनुभयो। प्रतिष्ठानका उपाध्यक्ष एवं माओवादी नेता दीनानाथ शर्माले एमसिसीबारे बुझ्न चाहने पाठकका लागि पुस्तक महत्वपूर्ण स्रोत हुने विश्वास व्यक्त गर्नुभयो।

Facebook Comments Box