ललितपुरको गोदावरी नगरपालिका चापागाउँमा रहेको शाँग्रीला अर्फनेज होम २५ वर्ष पूरा

ललितपुरको गोदावरी नगरपालिका चापागाउँमा रहेको शाँग्रीला अर्फनेज होमले २५ वर्ष पूरा गरेको छ। २५ वर्ष पूरा गरेको अवसरमा निता शाहीको संयोजकत्वमा रजत महोत्सव उत्साहका साथ वैशाख ६ गते सम्पन्न गरेको छ।

रजत महोत्सवको उद्घाटन गर्दै ललितपुर जिल्ला क्षेत्र नम्बर १ का सांसद तथा पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले बालबालिकाको क्षेत्रमा तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा खेलेको संस्थाको भूमिकाको खुलेर प्रशंसा गर्नुभयो ।कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

जर्मन गोविन्दा फाउन्डेसन र स्विजरल्याण्डका केही सहयोगी हातहरूले निरन्तर रूपमा शाँग्रीला अर्फनेज होमलाई सहयोग गर्दै आएका छन् । हाल ३२ जना बालबालिकाहरुले आश्रय पाएका छन्।

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकाल, गोदावरी नगरपालिका नगरप्रमुख गजेन्द्र महर्जन ,वडा नं १० का वडा अध्यक्ष शेखर न्यौपाने लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अर्फानेज होम र शाँग्रीला स्कुलका विद्यार्थी भाइबहिनीहरूले आफ्नो सांस्कृतिक प्रस्तुति राखेका थिए भने २५ वर्षभित्रमा विभिन्न क्षेत्रमा सेवा गरेका व्यक्तित्वहरुलाई विशेष सम्मान तथा प्रशंसापत्र समेत अर्पण गरिएको थियो । कार्यक्रममा स्वागत गर्दै अध्यक्ष यमुना मरासेनीले आगामी दिनमा संस्थाले सामाजिक सेवामा निरन्तर रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Facebook Comments Box