इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री नियुक्त

काठमाडौँ, २० साउन

नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार आज उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

२०२७ साल भदौमा मकवानपुरको तत्कालीन हर्नामाडी गाविस–४, दियावतीमा जन्मनुभएका बानियाँ यसअघि विभिन्न राजनीतिक जिम्मेवारी सम्हालिसक्नुभएको अनुभवी नेता हुनुहुन्छ।

बानियाँ नेपाली कांग्रेसको बागमती प्रदेश सभापति हुनुहुन्छ। उहाँको राजनीतिक यात्रा विसं २०४४ मा नेपाल विद्यार्थी सङ्घमार्फत सुरू भएको थियो। विसं २०५१ मा कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नुभएका बानियाँ क्रमशः नेविसंघ, तरुण दल हुँदै पार्टीको विभिन्न तहमा सक्रिय रहनुभएको थियो।

विसं २०७० मा मकवानपुर क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका बानियाँ २०७४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीसमेत बन्नुभएको थियो।

२०७४ सालमा मकवानपुर–२(ख) बाट प्रदेशसभा सदस्य निर्वाचित बानियाँ यसपटक पनि सोही क्षेत्रबाट पुनः निर्वाचित हुनुभएको हो। यसअघि बहादुरसिंह लामा तामाङलाई हराउँदै साउन १४ गते संसदीय दलको नेता चयन भएलगत्तै उहाँ मुख्यमन्त्री बन्नुभएको हो।

लामाविरुद्ध साउन ९ गते दर्ता गरिएको अविश्वास प्रस्ताव साउन १३ गते पारित भएपछि रिक्त दलको नेतामा भएको निर्वाचनमा बानियाँले २२ मत प्राप्त गर्दै नेतृत्वमा पुग्नुभएको हो। लामाले १४ मत पाउनुभएको थियो भने १ मत बदर भएको थियो।

राजनीतिसँगै सफल निर्माण व्यवसायीका रूपमा समेत परिचित बानियाँ राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा विश्वासिलो व्यक्तित्वका रूपमा चिनिनुहुन्छ।

Facebook Comments Box