सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुँदै, असोज १ देखि लागू

काठमाडौँ, २० साउन – अब सवारीसाधनमा इम्बोस्ड (उत्खनित) नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने निर्णय भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा आज सम्पन्न विषयगत समितिको बैठकले असोज १ गतेदेखि सबै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने निर्णय गरेको हो।

बैठकले प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूबाट सवारी दर्ता, नामसारी तथा नवीकरण गर्दा असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्देशन जारी गरेको छ।

यो कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले आवश्यक सहयोग गर्नेछ भने गृह मन्त्रालयसँग समन्वय गरेर ट्राफिक प्रहरी परिचालन गरी कडाइ गरिनेछ।

सुरक्षा मुद्रणसम्बन्धी ऐन, २०८१ को दफा ९ अनुसार सवारी चालक अनुमतिपत्र छपाइका लागि सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच गत जेठ ९ गते सम्झौता भएको छ। सोही अनुसार, २०८२ असार मसान्तसम्ममा प्रथम चरणको अनुमतिपत्र उत्पादन सुरु गर्न केन्द्रलाई अनुरोध गरिने बैठकले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशले सवारी चालक अनुमतिपत्र छपाइका लागि आवश्यक खरिद प्रक्रिया अगाडि बढाइसकेको र छपाइ कार्य तत्काल सञ्चालन गरिनुपर्ने पनि बैठकले निर्णय गरेको छ।

त्यसैगरी, बैठकले १० वर्ष अवधिको सवारी चालक अनुमतिपत्र वितरणमा राजस्वमा एकरूपता कायम गर्ने, तथ्याङ्क डिजिटलाइज गर्ने, भुक्तानी विद्युतीय माध्यमबाट गरिने, सफ्टवेयर प्रणाली चुस्त पार्ने, बेरुजु फछ्र्यौट प्रभावकारी बनाउने र राइड सेयरिङमा एकरूपता कायम गर्ने लगायतका निर्णयहरू पनि गरेको छ।

मन्त्री दाहालले संविधान तथा ऐनले निर्दिष्ट गरेको व्यवस्था कार्यान्वयन गर्दै संघीयता मजबुत बनाउन तीन तहबीच समन्वय र सहकार्य अत्यन्त आवश्यक रहेको बताउनुभयो।

मन्त्रालयका सचिव केशवकुमार शर्माले पनि विगतका निर्णयको समीक्षा गर्दै आगामी कार्यदिशा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। बैठकमा संघीय र प्रदेशका मन्त्री, सचिव तथा स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी थिए।

Facebook Comments Box