उत्तराखण्डको उत्तरकाशीमा आरीघोप्टे वर्षापछि भीषण बाढी, ४ जनाको मृत्यु, ५० बेपत्ता
उत्तराखण्ड (भारत), २० साउन
भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीमा परी ४ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन्।
उत्तरकाशीका जिल्ला अधिकारी (डीएम) प्रशान्त आर्यका अनुसार वर्षासँगै आएको लेदोसहितको बाढीले स्थानीय भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ।
हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा रहेको धराली गाउँ नजिकको खीर गढ नालीमा क्लाउडबर्स्टपछि आएको बाढीले गंगोत्री धामसँगको सम्पर्क सडकसमेत विच्छेद गराएको छ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतका लागि सम्बन्धित निकायलाई सक्रिय गराइसकेको जानकारी दिनुभएको छ।
उहाँले घटनास्थलको अवस्थाबारे वरिष्ठ अधिकारीहरूसँग नियमित सम्पर्कमा रहेको र परिस्थितिको नजिकबाट निगरानी गरिरहेको पनि उल्लेख गर्नुभएको छ।
घटनास्थलमा प्रहरी, एसडीआरएफ, एनडीआरएफ, सेना र अन्य उद्धार टोलीहरू खटिइसकेका छन्। अहिलेसम्म भारतीय सेनाले १५ जनाको सकुशल उद्धार गरिसकेको जनाइएको छ।
एक प्रत्यक्षदर्शीले भारतीय सञ्चारमाध्यमलाई भनेका छन्, “होटलदेखि बजारसम्म सबै कुरा नष्ट भएको छ। मैले कहिल्यै यति भयावह विपत्ति देखेको थिइनँ।”
सरकारी अधिकारीहरूका अनुसार हराइरहेका व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ भने जोखिमयुक्त स्थानका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम जारी छ।

