नारायणगढ–मुग्लिन सडक: सधैं ढुंगा खस्ने त्रास कायमै
चितवन, २० साउन
नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश स्थानहरू भित्तो काटेर निर्माण तथा विस्तार गरिएकाले यहाँ सधैं पहिरो र ढुङ्गा खस्ने जोखिम रहँदै आएको छ। समयसमयमा ढुङ्गा खस्दा मानवीय क्षति भएका घटना थुप्रै छन्।
हालैका वर्षहरूमा सडक विस्तार, पुल निर्माण तथा पहिरो रोकथामका कामहरू अघि बढाइएका छन्। त्यसले जोखिम केही घटाए पनि ढुङ्गा खस्ने समस्या भने अझै ज्यूँका त्यूँ रहेको छ।
डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार तुइन खोला क्षेत्र सबैभन्दा जोखिमयुक्त रहेको छ। त्यहाँ ठूलो ढुङ्गा झारिएको भए पनि क्षेत्र अझै असुरक्षित रहेको बताइन्छ।
उहाँले भन्नुभयो, “यो ठाउँमा रकनेटिङका लागि छलफल भइरहेको छ।” करिब १६ मिटर माथिबाट अत्यन्तै जोखिममा रहेको ढुङ्गा लङबुम एक्साभेटरको सहयोगमा हटाइएको थियो।
लामो बालुवा पुल आसपासमा पनि ढुङ्गा खस्ने सम्भावना कायमै छ। केही समयअघि यही क्षेत्रमा ढुङ्गा खसेर एक चालकको मृत्युसमेत भएको थियो। इञ्जिनियर घिमिरेका अनुसार झन्डै ७०० मिटर क्षेत्रमा विशेष जोखिम रहेको छ, जसमा पहिला भित्तो काटिएको थियो।
यस्तै अन्य जोखिमयुक्त क्षेत्रहरूमा
-
जलवीरे: करिब १०० मिटर क्षेत्र साना ढुङ्गा खस्ने जोखिममा
-
नाम्सी पुल क्षेत्र: भित्तो काटिएको हुँदा जोखिम
-
तुइन खोला आसपास: करिब ६० मिटर क्षेत्र ढुङ्गा खस्ने सम्भावनामा
यी क्षेत्रमा पहिले सडक विस्तारका क्रममा भित्ताहरू काटिएकाले ढुङ्गा खस्ने सम्भावना बढेको हो। केही ठाउँमा रकनेटिङ र वायो इञ्जिनियरिङ प्रविधि प्रयोग गरेर रोकथाम गरिए पनि नयाँ क्षेत्रमा समस्या देखिएको इञ्जिनियर घिमिरेले जानकारी दिनुभयो।
उहाँले थप्नुभयो, “पहिले रोकथाम गरिएको ठाउँमा समस्या छैन, नयाँ ठाउँहरूमा जोखिम देखिएको छ।” कार्यालय प्रमुख नारायण लामिछानेले जोखिमयुक्त स्थानहरूमा रकनेटिङलगायतका काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै,
विभागसँग समन्वय गरेर काम अघि बढाइने बताउनुभयो। वर्षात्को समयमा सडक झनै जोखिमपूर्ण हुने भएकाले यात्रुहरूलाई विशेष सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो।
ढुङ्गा वा पहिरो खसेमा तत्काल सडक खुलाउनका लागि कार्यालयले मुग्लिनमा लोडर तयारी अवस्थामा राखेको छ। यस्तै सेतीदोभानमा लोडर, जेसिभी, एक्साभेटर, ट्रकटेलर र टिपर तयारी अवस्थामा छन्। साथै, नाली बन्द हुन नदिन मिनी एक्साभेटर र आवश्यक जनशक्ति पनि नियमित रुपमा खटाइएको छ।

