हलेसीमा माइक्रोबस दुर्घटना: एकको मृत्यु, १७ घाइते, चालक फरार
📍 खोटाङ, १९ साउन
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माइक्रोबस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। दुर्घटनामा मृतक र घाइतेहरूको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
त्रिधार्मिकस्थल हलेसी दर्शन गरेर सिराहाको गोलबजार फर्किंदै गरेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।
दुर्घटनामा परी सिरहा नरहा गाउँपालिका–५ की २८ वर्षीया ममतादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी माइक्रोबसमा च्यापिएकी थिइन्। उपचारका लागि कटारी अस्पताल लैजाँदै गर्दा मृत घोषणा गरिएको हो।
घाइतेहरूमा:
-
राजु यादव (७०)
-
सरिता देवी ठाकुर (४९)
-
सविता कुमारी यादव (३२)
-
मिथिला कुमारी यादव (४०)
-
पुनम यादव (३०)
-
लक्ष्मी शर्मा (३२)
-
नदिन शर्मा (३२)
-
झालु देवी यादव
-
धनेश्वर यादव (५७) – चन्द्र अयोध्यापुर
-
दुर्योधन यादव (७९) – सबेला नगरपालिका, धनुषा
घाइतेहरूलाई प्राथमिक उपचारपछि राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो।केही सामान्य घाइतेहरूको उदयपुरको घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचारपछि डिस्चार्ज गरिएको छ।
चालक फरार, खोजी जारी
दुर्घटनापछि माइक्रोबस चालक रामनाथ साह फरार भएका छन्। उनी सिरहा नगरपालिका–३, सारसोरका बासिन्दा हुन्। हाल प्रहरी उनको खोजीमा जुटेको इलाका प्रहरी कार्यालय हलेसीका निरीक्षक हेमन्त राईले जानकारी दिनुभयो।

