प्रतिनिधिसभामा बहुविवाह कानुनी बनाउने तयारीमाथि तीव्र विरोध

📍 काठमाडौँ, १९ साउन २०८२

संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बहुविवाह कानुनी रूपमा मान्यता दिने तयारीप्रति तीव्र असहमति जनाएका छन्। विशेष समयमा बोल्दै सांसदहरूले प्रस्तावित विधेयकलाई संविधान, महिला अधिकार र अन्तर्राष्ट्रिय सन्धिविरुद्ध भएको बताएका छन्।

जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिने तयारीप्रति कडा आपत्ति जनाउँदै भनिन्,

“पहिलो पत्नीसँग मन नमिल्दा सम्बन्धविच्छेद गरेर दोस्रो विवाह गर्ने अधिकार संविधानमै छ। तर बहुविवाहलाई खुला छुट दिनु संविधानको मर्म, भावना र संयुक्त राष्ट्रसंघको महासन्धि ‘सिडव’ को ठाडो उल्लंघन हो।”

श्रेष्ठले प्रस्तावित कानुन सम्पूर्ण महिलाका अधिकारमाथि हमला भएको भन्दै महिलाहरूले त्यसको डटेर प्रतिवाद गर्ने चेतावनी दिइन्। साथै, प्रतिनिधिसभाभित्र अहिलेसम्म महिला समन्वय समिति गठन नहुनु दुःखद रहेको भन्दै यसले महिला सम्बन्धी मुद्दाहरू प्रभावकारी रूपमा उठ्न नसकेको बताइन्।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले स्मार्ट लाइसेन्स, पासपोर्ट र राष्ट्रिय परिचयपत्रको छपाइ प्रक्रियामा भ्रष्टाचार भएको आरोप लगाए।

उनले भने, “यी सबै सामग्री नेपालमै छपाइनुपर्ने हो, तर विदेश पठाएर अनावश्यक खर्च र भ्रष्टाचार बढाइएको छ। सम्बन्धित मन्त्रीहरूले संसदमा जवाफ दिनुपर्छ।”

Facebook Comments Box