चितवनमा १५ दिनमै २० जना डेङ्गु संक्रमित

चितवन, १६ साउन – चितवनमा साउन महिनाको पहिलो १५ दिनमै २० जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका ७९८ जनाको परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको हो। संक्रमितमध्ये १४ जना चितवनकै हुन् भने बाँकी ६ जना अन्य जिल्लाबाट आएका छन्।

भरतपुर महानगरमा ७ जना, खैरहनी नगरपालिकामा ३ जना, रत्ननगर र कालिका नगरपालिकामा २/२ जना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये ५ जना पुरुष र ९ जना महिला छन्।

वर्षा र घामले लामखुट्टेको बास अनुकूल

जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार, साउन, भदौ र असोज महिनामा वर्षा र घामको क्रम बढ्ने भएकाले एडिस जातको लामखुट्टेको बास बस्न उपयुक्त वातावरण बन्छ, जसले डेङ्गु फैलाउने गर्छ।

जनस्वास्थ्य कार्यालय प्रमुख डा. दिनेश रुपाखेतीका अनुसार एडिस जातको पोथी लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने गर्दछ। प्लास्टिकका बट्टा, ड्रम, पुराना टायर, गमला वा कुलरमा जमेको सफा पानीमा अण्डा राखेर प्रजनन गर्ने भएकाले सावधानी जरुरी छ।

डेङ्गुका लक्षणहरू:

  • उच्च ज्वरो

  • आँखाको गेडी, टाउको र हड्डी दुख्ने

  • शरीर कट्कटी दुख्ने

  • मांशपेशी तथा जोर्नी दुख्ने

  • रगत बग्ने र विविरा देखापर्ने

लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरिका पानी जम्न सक्ने ठाउँ सफा राख्ने, झुलको प्रयोग गर्ने, तथा फोहोर व्यवस्थापनमा ध्यान दिनु जरुरी छ।


स्क्रब टाइफसका ३२ संक्रमित

त्यसै अवधिमा चितवनमा ३२ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २३ जना चितवनका र ९ जना बाह्य जिल्लाका हुन्।

यो रोग मुसामा पाइने माइट (साना कीराझैँ देखिने परजीवी) को टोकाइबाट मानिसमा सर्छ। स्क्रब टाइफस मानिसबाट मानिसमा सर्दैन।

रोग सर्ने वातावरण र लक्षण

जनस्वास्थ्य प्रमुख रुपाखेतीका अनुसार यो जीवाणु ओरेन्टिया सुसुगामुसी बाट फैलिन्छ। माइट प्रायः झाडी, वनजङ्गल, खेतबारी र फोहोर स्थानमा पाइन्छ।

सावधानीका उपाय:

  • खेतबारी वा झाडी क्षेत्रमा जाँदा पूरै शरीर ढाक्ने कपडा लगाउने

  • जुत्ता प्रयोग गर्ने

  • चउर वा घाँसमा गुन्द्री ओछ्याएर मात्र बस्ने

  • भूइँमा सुत्न वा बस्न नहुने

लक्षणहरू:

  • १०४°F भन्दा बढी ज्वरो

  • अत्यधिक पसिना

  • आँखा रातो हुने

  • झाडापखाला

  • शरीरका मुख्य अंगमा असर

  • कीराले टोकेको ठाउँमा रातो दाग, पछि कालो हुने

Facebook Comments Box