‘एक वडा, एक नमूना उद्यम’बाट उत्पादित सामग्रीको बजारीकरणमा समस्या

काठमाडौँ, १६ साउन – काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ अन्तर्गत उत्पादन भएका सामग्रीको बजारीकरणमा समस्या देखिएको छ। नयाँ बानेश्वरको एनबी सेन्टरमा प्रदर्शनी र बिक्रीका लागि ठाउँ व्यवस्था गरिएको भए पनि त्यो अपुग भएको बताइएको छ।

कार्यक्रम अन्तर्गत विभिन्न वडामा उत्पादन भएका सामग्रीहरू थन्किन थालेको वडा नं ११ की महिला सदस्य आशा श्रेष्ठले बताइन्। पर्याप्त उत्पादन भए पनि बिक्रीका लागि स्थायी र सुलभ बजार नहुँदा समस्या भइरहेको उनको भनाइ छ। वडा नं २७ की दलित महिला सदस्य प्रभा परियारले उत्पादन र तालिमको प्रचुरता रहे पनि बजारीकरणको संयन्त्र अभाव रहेको बताइन्।

महानगरको उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत विभिन्न वडाले आफ्नो पहिचान अनुसारका सामग्री उत्पादन गर्दै आएका छन्। उदाहरणका लागि, वडा नं १ र ३० मा गुन्द्रुक र मस्यौरा, वडा नं ५ मा सेरामिक्स सामग्री, वडा नं ७ मा क्रिस्टल र पोतेका गहना, वडा नं ८ मा दुना–टपरी र रुद्राक्ष ढक्की, वडा नं १६ मा काष्ठकला, वडा नं २२ मा जुत्ता, र वडा नं २४ मा झोला उत्पादन गरिएको छ।

गत आर्थिक वर्षमा थप ११ वटा वडामा नयाँ नमूना उद्यम सुरु गरिएको थियो। तीमध्ये वडाहरूले ऊनका सामग्री, हाकुपटासी, नेवारी वेशभूषा, मिठाइका परिकार, ढाकाका कपडासहित खाद्यवस्तु तथा बेबीसेट उत्पादन गर्दै आएका छन्।

महानगरले स्थानीयस्तरमै महिला र पिछडिएका समुदायलाई उद्यममा प्रोत्साहन गर्न कार्यक्रम सुरु गरे पनि दीगो बजार व्यवस्थापनको खाँचो अझै भरिन सकेको छैन। सरोकारवालाहरूले स्थायी बिक्री केन्द्र स्थापना तथा अनलाइनमार्फत बिक्री प्रवर्द्धन गर्न आग्रह गरेका छन्।

Facebook Comments Box