सरकारले दुई दिन दिने निर्णय गरेसँगै प्याब्सनले वर्षमा १८० दिन पठनपाठन हुने सुनिश्चितता सहित कक्षा सञ्चालन

काठमाडौं, १ जेठ – सरकारले साप्ताहिक बिदा दुई दिन दिने निर्णय गरेसँगै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले वर्षमा १८० दिन पठनपाठन हुने सुनिश्चितता सहित कक्षा सञ्चालन हुने प्रस्ट पारेको छ ।

प्याब्सनका अध्यक्ष डीके ढुंगानाले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले वैशाख २६ गते राजपत्रमा प्रकाशित सूचना अनुसार जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयले विद्यालय शिक्षाको शैक्षिक क्यालेण्डर प्रभावित हुने भन्दै चिन्ता प्रकट गरेका छन् ।

उनले शिक्षा क्षेत्र निजामति, उद्योग, व्यवसाय, उत्पादन तथा अन्य सेवा क्षेत्रभन्दा भिन्न प्रकृतिको रहेको र राज्यले प्रदान गर्ने सार्वजनिक विदाहरु यसअघि नै अत्यधिक भएको सन्दर्भमा आइतबारको बिदासमेत थपिने हुँदा यसबाट विद्यार्थीको सिकाई निरन्तरता एवं शैक्षिक कृयाकलापमा पर्न जाने नकारात्मक प्रभावप्रति समवेदनशील हुन जरुरी रहेको पनि औंल्याएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘तथापि, नेपाल सरकारले हालको विशेष परिस्थितिमा अर्को सहज अवस्था सिर्जना नभएसम्म अस्थायी रुपमा राज्यकोषको भारलाई कम गर्न गरेको प्रयत्नमा प्याब्सनको भूमिका सहयोगी रहनेछ र मितव्ययिताका अन्य थुप्रै विकल्पमाथि पनि सरकारले बेलैमा ध्यान पुर्याओस् भन्ने ध्यानाकर्षणसमेत गराउँदछौं ।’

लगातार दुई दिन सार्वजनिक बिदा गर्दा राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले निर्दिष्ट गरे बमोजिम पाठ घण्टा र कार्यघण्टा कार्यान्वयनको ग्यारेन्टी नहुने निश्चित प्रायः देखिएको पनि प्याब्सनले प्रस्ट पारेको छ ।

नेपाल सरकारले गरेको अल्पकालीन परिस्थितिजन्य निर्णयलाई आत्मसात् गर्दै विद्यालयहरूले पाठ्यक्रमको पाठ्यभार फरक नपर्ने गरी आवश्यकता अनुसार हिउँदे, बर्खे, पर्व, उत्सव र दिवस लगायत स्थानीय बिदाका दिनहरु समेत कटौती गरी हाइब्रिड÷अनलाइन÷भर्चुअल विधिमार्फत पठनपाठन हुने कक्षालाई समेत मध्यनजर गर्दै प्याब्सनद्वारा निर्मित शैक्षिक क्यालेण्डरमा संशोधन गरी लागू गर्न आफ्ना पालिका समितिहरुलाई प्याब्सनले आह्वान गरेको छ ।

प्याब्सनले नेपाल सरकारलाई यो अल्पकालीन व्यवस्थाका बीच अन्य थुप्रै बिदाहरुको पुनरावलोकन गरी समायोजन गर्न र कार्य दिन बढाउन पनि जोडदार माग गरेको छ ।

‘बिदासम्बन्धी अल्पकालीन परीक्षण पश्चात यथावत् रुपमा शैक्षिक सत्र २०७९ मा १८० दिन पठनपाठन हुने सुनिश्चिततासहित कक्षा सञ्चालन गरिनेछ,’ प्याब्सनले विज्ञप्तिमार्फत भनेको छ, ‘तसर्थ केन्द्रीय प्याब्सनको निर्देशन बमोजिम स्थानीय प्याब्सनले सदस्य विद्यालयहरुलाई सहज ढंगले कक्षा सञ्चालनका लागि सहजीकरण गर्न र शैक्षिक सत्र पूरा गराउन आवश्यक भूमिका निर्वाह गर्न निर्देशित गरिन्छ ।’

Facebook Comments Box