गृहमन्त्री लेखक र संयोजक हाम्दीबीच भेटवार्ता

काठमाडौँ, १५ साउन – गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिङ्गर हाम्दीले आज सिंहदरबारस्थित गृह मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ।

भेटका क्रममा संयोजक हाम्दीले सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत भइरहेको कार्यप्रति चासो व्यक्त गर्दै शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउन निरन्तर समर्थन रहने प्रतिबद्धता जनाउनुभयो।

उहाँले नेपालको विपद् व्यवस्थापनमा संयुक्त राष्ट्रसंघको सहयोग जारी रहने विश्वास दिलाउँदै सहकार्यलाई अझ मजबुत बनाउने धारणा राख्नुभयो।

गृहमन्त्री लेखकले सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत सक्रिय रूपमा कार्यरत रहेको जानकारी दिनुभयो।

उहाँले विपद् व्यवस्थापनको क्षेत्रमा संयुक्त राष्ट्रसंघबाट प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ व्यापक सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो।

Facebook Comments Box