रञ्जिताले लगाएको आरोप फेस गर्न तयार छु : अध्यक्ष लालवीर चौधरी

काठमाडौँ, १५ साउन – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नव-निर्वाचित अध्यक्ष लालवीर चौधरीले पार्टीकी नेतृ रञ्जिता श्रेष्ठले लगाएका आरोपहरूसामु आफू र पार्टी फेस गर्न तयार रहेको बताएका छन्।

हिजो र आज सम्पन्न पार्टीको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्षमा चयन गरेको हो। अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले पार्टीलाई कमिटीको सल्लाह, सुझाव र विधि-पद्धतिको आधारमा अघि बढाउने प्रतिबद्धता जनाए।

उहाँले डेढ वर्षसम्म रञ्जिता श्रेष्ठले पार्टी बैठक नबोलाएको भन्दै अहिलेको निर्णय पार्टीलाई निकास दिन आवश्यक भएको स्पष्ट पार्नुभयो।
“डेढ वर्ष भयो उहाँले बैठक नडाकेको हुनाले विकल्प खोजिएको हो,” अध्यक्ष चौधरीले भने, “उपनिर्वाचन हुँदैछ, उम्मेदवारी दिनुपर्ने छ, त्यसैले विधान र निर्वाचन आयोगको नीतिसम्मत ढंगबाट अघि बढ्न यो निर्णय गरिएको हो।”

उहाँले थपे, “हिजो र आजको भेलामा श्रेष्ठलाई उपस्थित हुन आग्रह गरिएको थियो, तर उहाँ आउनुभएन। पार्टीका सदस्यहरूले उहाँमाथि उठाएका आरोपहरूसामु पार्टी फेस गर्न तयार छ।”

चौधरीले पार्टीले श्रेष्ठलाई बाहिर धकेलेको नरहेको स्पष्ट पार्दै भन्नुभयो, “अझै पनि उहाँलाई पार्टीले धेरै पर राखेको छैन। यो प्रक्रिया केवल निकासका लागि हो।”

यता, नेतृ रञ्जिता श्रेष्ठ पोखराको लिचीबारी जग्गा प्रकरणमा घुस काण्डमा जोडिएको आरोपको सामना गरिरहनुभएको छ। यद्यपि, श्रेष्ठले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै केही दिनअघि नेतृत्व बदली प्रक्रियामाथि प्रश्न उठाउनुभएको थियो।

Facebook Comments Box