सिरहाका किसानको आशा: कमला र खुट्टीखोला सिँचाइ नहर

सिरहा, १५ साउन – रोपाइँ सकिए पनि किसानको नजर अझै आकाशमै छ। सिरहा कर्जन्हा–१ का श्यामलाल यादव खेतमा हरियाली पलाउने आशामा छन्, तर नहर सुक्ने चिन्ताले मन अमिलो भएको छ। “कमला नहरको पानी आउने आशा त छ,” उहाँ भन्नुहुन्छ, “तर कहिलेकाहीँ कुलोमा पानी सुक्दा मन खिन्न हुन्छ।”

श्यामलालको मात्र होइन, पूरै गाउँका किसान यही शङ्कामा छन्। पछिल्ला वर्षहरूमा मौसम अनियमित हुँदा कहिले अत्यधिक, कहिले अत्यल्प वर्षा हुने गरेको छ। यस्तो अवस्थामा खेती निर्भर हुने सिरहाका किसानका लागि सिँचाइ नहर नै भरपर्दो माध्यम बनेको छ—तर त्यसको अवस्था पनि सन्तोषजनक छैन। कमला सिँचाइ आयोजना नेपालकै पुराना र प्रमुख सिँचाइ परियोजनामध्ये एक हो।

विसं २०१७ सालमा तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिंहले शिलान्यास गर्नुभएको आयोजनाबाट २०४० सालदेखि सिँचाइ सुविधा सुरु गरिएको हो। धनुषास्थित पोर्ताहा कमला सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख वीरेन्द्र यादवका अनुसार हालसम्म सिरहामा करिब १२ हजार ५०० हेक्टर र धनुषातर्फ पनि त्यत्तिकै क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ।

कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा, सुखीपुर, विष्णुपुर र औरहीका किसानहरूले यसको प्रत्यक्ष लाभ लिइरहेका छन्। तर हाल कमला नदीमै पानीको सतह घटेका कारण नहरमा पर्याप्त प्रवाह छैन। यही कारण आलोपालो प्रणाली लागू गरिएको छ। “धान रोपाइँलाई ध्यानमा राख्दै असार ९ देखि पानी प्रवाह सुरु गर्‍यौँ,” प्रमुख यादवले बताउनुभयो, “तर पानीको मात्रा कम भएकाले सबै शाखामा एकसाथ सिँचाइ दिन सकिएन।”

शाखागत पालो मिलाएर पानी वितरण गरिँदैछ। अनुगमन र व्यवस्थापनलाई सशक्त बनाइएको र पानीको बहाव बढेपछि नियमित आपूर्ति सुनिश्चित गरिने कार्यालयले जनाएको छ। सिरहाको पूर्वी भेगमा निर्माणाधीन खुट्टीखोला सिँचाइ आयोजना किसानको लागि अझै अधुरो सपना बनेको छ। लहान नगरपालिका–१० मा झन्डै रु ९ करोड लागतमा मुख्य संरचना (हेडवर्क्स) निर्माण सम्पन्न भए पनि अहिलेसम्म नहरमार्फत खेतमा पानी पुगेको छैन।

लहान–११ का किसान धर्मराज चौधरी भन्छन्, “नहर बन्यो, पानी आएन। हरेक वर्ष आशा गर्छौं, तर अन्ततः प्रकृतिमै भर पर्नु परेको छ।” आयोजनाको मुख्य नहर बनिसके पनि शाखा नहर, नियन्त्रण गेटजस्ता आवश्यक संरचना अझै अधुरो छन्। यसबाट लहान, सखुवानान्करकट्टी, भगवानपुर र लक्ष्मीपुर पतारीका ९३५ बिघाभन्दा बढी क्षेत्र सिँचित गर्ने लक्ष्य छ।

चार वर्षअघि निर्माण थालिएको आयोजना सञ्चालन नहुँदा किसान निराश छन्। यही कारण संघर्ष समिति गठन गरेर किसानहरूले नहर सञ्चालनको माग गरेका थिए। दबाबपछि सञ्चालन प्रक्रिया सुरु भएको हो। मधेस प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले नहर जस्तो जीवन र खाद्य सुरक्षासँग जोडिएको पूर्वाधारलाई राजनीतिक विषय नबनाउन आग्रह गर्नुभयो।

“बर्सेनि पानीको अभावमा बाली सुक्छ,” उहाँले भन्नुभयो, “सिँचाइ पूर्वाधारको उपेक्षा जनताको जीवनमाथिको खेलबाड हो।” बुधबार कमला र खुट्टीखोला सिँचाइ नहरको एकैदिन स्थलगत अनुगमन गरिएको छ। कर्जन्हाको पुछार क्षेत्रका किसानले पानी नपाएको गुनासोपछि जनप्रतिनिधि, सिँचाइ अधिकारी र स्थानीयहरूको टोलीले कमला नहर अवलोकन गरेको हो।

अनुगमनपछि सातामा तीन दिन पानी प्रवाह गर्ने सहमति भएको कर्जन्हा–१ का वडाध्यक्ष फणीन्द्र पोखरेलले जानकारी दिनुभयो। यता, खुट्टीखोला नहरको ड्यामस्थल पनि निरीक्षण गरिएको छ। हेडवर्क्स बनेको भए पनि बजेट अभाव, समन्वयको कमी र स्थानीय विवादका कारण आयोजनाले गति लिन सकेको छैन।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिरहाका अनुसार खडेरीका कारण रोपाइँ प्रभावित भएपछि नहर सुधार र सञ्चालनका लागि मधेस प्रदेश सरकारले रु १५ लाख बजेट विनियोजन गरेको छ। अनुगमन टोलीमा प्रदेशसभा सदस्य चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला समन्वय समिति प्रमुख दिनेश महतो, सिँचाइ डिभिजन प्रमुख हस्मत अन्सारी, इलाका प्रशासन प्रमुख गोकर्णराज सुयल, सुरक्षानिकायका अधिकारीलगायत सहभागी थिए।

स्थानीय बासिन्दाले अनुगमनको क्रममा प्रदेश सरकारले न्यून बजेट छुट्याएको भन्दै गुनासो गरेका थिए। टोलीले यथाशक्य चाँडो आयोजनालाई सञ्चालनमा ल्याउन सहमति भएको जानकारी दिएको छ।

Facebook Comments Box