नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न, सीमास्तम्भ मर्मतमा सहमति

काठमाडौँ, १३ साउन – नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक आज भारतको नयाँ दिल्लीमा सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको छ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरे भने भारतीय पक्षको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले गरेका थिए।

बैठकमा सन् २०१९ अगस्टमा भारतको देहरादूनमा सम्पन्न छैटौँ बैठकका निर्णयहरूको कार्यान्वयन स्थिति र सोही वर्ष सेप्टेम्बरमा आयोजित ११औँ नापी विभागीय समिति बैठकको प्रगति समीक्षासमेत गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सीमास्तम्भहरूको निरीक्षण, पुनःस्थापना र मर्मतसम्भारका कामलाई अझ प्रभावकारी बनाउन दुवै पक्षले नयाँ प्रविधि प्रयोग गर्दै सर्वेक्षण र नक्साङ्कन प्रक्रिया अघि बढाउने सहमति जनाएका छन्।

बैठक अन्त्यमा दुवै पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। साथै, नेपालमा आगामी महिनामा नापी विभागका अधिकारीहरूको बैठक गर्ने र दुवै पक्षलाई उपयुक्त मितिमा सीमा कार्यदलको अर्को बैठक नेपालमै आयोजना गर्ने सहमति पनि भएको छ।

नेपाल–भारत सीमा कार्यदल सन् २०१४ मा दुवै देशको सहमतिमा गठन गरिएको संयुक्त निकाय हो। यसले सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापना, मर्मत तथा अन्य प्राविधिक कार्यहरू सञ्चालन गर्ने जिम्मेवारी पाएको छ।

Facebook Comments Box