दिसाजन्य कीटाणु भेटिएको पानी उद्योग पुनः सञ्चालनमा

भक्तपुर, १३ साउन – झौखेलमा संचालित केही खानेपानी उद्योगमा दिसाजन्य कीटाणु कोलिफार्म भेटिएपछि गरिएको तालाबन्दी हटाइएको छ। शुद्धताको पुनः परीक्षणमा पानी सुरक्षित पाइएपछि ती उद्योगहरूलाई आजदेखि पुनः सञ्चालनको अनुमति दिइएको हो।

चाँगुनारायण नगरपालिका–३ स्थित पाँचवटा पानी उद्योगमा उपभोक्ताले प्रदूषणको गुनासो गरेपछि नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी, प्राविधिक टोली, उपभोक्ता मञ्च र उद्योग वाणिज्य संघको संयुक्त टोलीले साउन ९ र ११ गते अनुगमन गरी नमूना संकलन गरेको थियो। परीक्षणमा कोलिफार्म देखिएपछि तत्काल ती उद्योगहरूमा ताला लगाइएको थियो।

नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक रमेश बुढाथोकीका अनुसार पुनः परीक्षणको नतिजा सकारात्मक आएपछि उद्योगहरूलाई सञ्चालनको अनुमति दिइएको हो।

“हामीले पानीको पुनः परीक्षण गर्‍यौं, आज आएको रिपोर्टमा शुद्धीकरण भएको देखिएपछि सञ्चालनको अनुमति दिएका हौं,” बुढाथोकीले बताए। “अब यस्ता समस्या दोहोरिए कडाभन्दा कडा कारबाही हुन्छ।”

तालाबन्दीमा परेका उद्योगहरूमा अक्वा कर्णाली खानेपानी, जय छुमा गणेश खानेपानी, ओके मिनिरल वाटर प्रा.लि., झौखेल खानेपानी उच्च बेभरेज प्रा.लि., र एसएन टप बेभरेज प्रा.लि. रहेका थिए। नगरपालिकाले सबै पानी उद्योगलाई दर्ता, नवीकरण र पानीको शुद्धता सुनिश्चित गर्न निर्देशन दिएको छ।

Facebook Comments Box