लोभ देखाएर मानव बेचबिखन गर्ने दुई जना पक्राउ
काठमाडौँ, ९ साउन – भारतमा आकर्षक रोजगारीको लोभ देखाएर मानव बेचबिखनमा संलग्न दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार सिन्धुलीका २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोकका ४५ वर्षीय रेशमबहादुर खत्रीलाई पक्राउ गरी विस्तृत अनुसन्धान सुरु गरिएको हो।
उनीहरूलाई अदालतमा पेश गरिएकामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो।
अनुसन्धानमा पत्ता लागेअनुसार प्रतिवादीहरूले एक व्यक्तिलाई भारतमा चालकको काम लगाइदिने बहानामा वीरगञ्ज हुँदै भारतको पटना पुर्याई बन्धक बनाएका थिए। त्यहाँ वेल स्टार डाइनामिक कम्पनीमा प्रति व्यक्ति १० हजार रुपैयाँ शुल्क तिर्न बाध्य पार्दै सात दिन तालिमको नाममा शारीरिक तथा मानसिक यातना दिइएको पाइएको छ।
पीडितलाई घरपरिवारसँग सम्पर्क गर्न नदिई डरधम्कीका साथ फेसबुकमार्फत नयाँ आइडी बनाएर अनलाइन स्क्यामिङमा संलग्न गराइएको पनि अनुसन्धानबाट खुलेको छ। दुई लाख रुपैयाँ बराबरको रकम असुली जबरजस्ती कागज गराई पीडितलाई दुई महिना बन्धक बनाइएको प्रहरीको भनाइ छ।
पीडित साउन १ गते नेपाल फर्किएर ब्युरोमा जाहेरी दिएपछि अनुसन्धान सुरु भएको हो। राजकुमारलाई काठमाडौँको बल्खुबाट र रेशमबहादुरलाई पर्साबाट पक्राउ गरिएको हो।

