तराई–मधेसमा खानेपानी र सिँचाइका लागि युद्धस्तरमा काम गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, ७ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेस क्षेत्रका बासिन्दालाई खानेपानी र सिँचाइको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेस प्रदेशलाई प्राकृतिक विपद्ग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो। उहाँले प्राकृतिक संकटसँग जुध्न सम्पूर्ण शक्ति प्रयोग गरिने र युद्धस्तरमा काम अघि बढाइने स्पष्ट पार्नुभयो।

“सरकार राष्ट्रका सामु देखिएका चुनौतीहरूसँग जुध्न तयार छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिले पहाडी क्षेत्रमा वर्षा र बाढीको असर देखिँदा तराई–मधेस सुक्खा समस्याबाट पीडित बनेको छ। यी समस्या समाधानका लागि आवश्यक सबै कदम चालिनेछन्।”

प्रधानमन्त्रीले अब अल्पकालीन र दीर्घकालीन समाधान उपाय अवलम्बन गरेर खानेपानी र सिँचाइको समस्या हटाउनेतर्फ सरकार लाग्ने बताउनुभयो।

उहाँले थप्नुभयो, “प्राकृतिक विपद्ग्रस्त क्षेत्र घोषणा भएपछि तराई–मधेसमा आवश्यक सामग्री पुर्‍याउन, डिपबोरिङलगायतका काम गर्न सजिलो हुनेछ। सरकार यस विषयमा पूर्ण गम्भीर छ र आवश्यक सबै काममा कुनै कसर बाँकी राख्ने छैन।”

Facebook Comments Box