सामाजिक सुरक्षा कोषले श्रमिक र परिवारको स्वास्थ्यको सम्पूर्ण जिम्मा लिने
काठमाडौँ, ७ साउन – सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र तिनका परिवारको स्वास्थ्यको जिम्मा लिने घोषणा गरेको छ।
कोषले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कविराज अधिकारीले अबको चार वर्षभित्र श्रमिक र परिवारका सदस्यहरूको स्वास्थ्य सेवा राज्यमार्फत सामाजिक सुरक्षा कोषले व्यवस्थापन गर्ने स्पष्ट पार्नुभयो।
उहाँका अनुसार पछिल्ला वर्षहरूमा श्रमिकको स्वास्थ्योपचार सेवा क्रमशः विस्तार हुँदै गएको छ। पहिले श्रमिक आफैंमा सीमित सेवा अहिले परिवारका सदस्यसम्म विस्तारित भइसकेको छ।
“पाँच वर्षअघि स्वास्थ्य सेवा योगदानकर्तासम्म सीमित थियो,” अधिकारीले भन्नुभयो, “अब भने परिवारमा पनि सेवा विस्तार भइसकेको छ। औषधोपचारका लागि उपलब्ध एक लाखको सुविधा बाहेक, अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने अवस्थामा १० लाख रुपैयाँसम्मको खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा दिइएको छ।”
कोषमा रोजगारदाता र श्रमिक सूचीकरण तथा योगदान रकम सङ्कलनमा उल्लेख्य वृद्धि भएको उहाँले जानकारी दिनुभयो। वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि योजनामा नियमित सहभागी गराउने प्रयास भइरहेको बताइएको छ।
कोषको तथ्याङ्क अनुसार:
-
हालसम्म २०,९९१ रोजगारदाता र २३,७४,४८६ श्रमिक कोषमा आबद्ध
-
अघिल्लो आर्थिक वर्षमा मात्र ८,८२,९४६ श्रमिक आबद्ध
-
कुल संकलित योगदान रकम: रु ८३ अर्ब ६५ करोड
कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार नियमित योगदानकर्तालाई विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत रु १५ अर्ब ७५ करोड रकम भुक्तानी गरिएको छ।
त्यसैगरी,
-
विशेष सापटीमा रु ६ अर्ब ९० करोड
-
घर सापटीमा १३ करोड
-
शैक्षिक सापटीमा १ करोड
जोडी कुल ७ अर्ब ४ करोड रकम ३४,०९७ जना योगदानकर्तालाई भुक्तानी गरिएको छ।

