नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने
काठमाडौँ, ७ साउन ( नागरिक लगानी कोष (CIT) र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले हस्ताक्षर गर्नुभएको हो।
सम्झौता अनुसार बैंकले हालसम्म सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैरयोगदानमा आधारित उपदान तथा अन्य अवकाश कोष नागरिक लगानी कोषमा हस्तान्तरण भएको छ। यससँगै बैंकमा कार्यरत करिब दुई हजार कर्मचारीको उपदान र अवकाशसम्बन्धी कोषको व्यवस्थापन तथा सञ्चालन अबदेखि नागरिक लगानी कोषले गर्नेछ।
चालु आर्थिक वर्ष २०८२/८३ देखि नेपाल सरकारले लागू गरेको आर्थिक ऐन, २०८२ मा गरिएको संशोधनअनुसार, साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू नागरिक लगानी कोष वा अन्य स्वीकृत कोषमा आबद्ध हुनुपर्ने व्यवस्था गरिएको छ।
यसै सन्दर्भमा, आन्तरिक राजस्व विभागले गत असार ३१ गते एक सूचना जारी गर्दै, आयकर ऐन, २०५८ को व्यवस्था अनुसार, सम्बन्धित अवकाश कोषहरू २०८३ साल असार मसान्तभित्र नागरिक लगानी कोषलगायत स्वीकृत कोषमा स्थानान्तरण गर्नुपर्ने जानकारी गराएको थियो।
सम्झौतासँगै सरकारी नीतिअनुसार निजी क्षेत्रका वित्तीय संस्थाहरूको अवकाश कोष व्यवस्थापनलाई एकीकृत गर्दै पारदर्शिता र दीर्घकालीन सुरक्षातर्फको कदम भएको नागरिक लगानी कोषले जनाएको छ।

