एमाले केन्द्रीय समितिको निर्णय: पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनुहुँदैन

काठमाडौँ, ७ साउन – नेकपा (एमाले) केन्द्रीय समितिको बैठकले पूर्वराष्ट्रपतिलाई दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ। बैठकले राष्ट्रपति जस्तो गरिमामय पदमा रहेका व्यक्तिले दलको कार्यकर्ता वा नेताको भूमिकामा फर्कनु संविधानको मर्म र भावनाविपरीत हुने निष्कर्ष निकालेको हो।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, पार्टीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति सम्मान प्रकट गर्दै उहाँको सक्रिय राजनीतिमा पुनः संलग्न हुने सम्भावनाप्रति असहमति जनाएको हो। “पूर्वराष्ट्रपति देशको अभिभावक हुन्, उहाँलाई दलको झण्डा बोक्न लगाउनु मुल्यमान्यता र संवैधानिक भावनाविपरीत हुन्छ,” गौतमले च्यासलमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो।

पार्टी केन्द्रीय समितिको बैठकले पूर्वराष्ट्रपतिलाई राजनीतिक दलमा संलग्न गराउने निर्णयले भविष्यमा प्रणाली र संवैधानिक मूल्यमान्यता माथि प्रश्न उठ्न सक्ने भन्दै सबै दलले गम्भीर ढंगले सोच्नुपर्ने आवश्यकता औंल्याएको छ। अध्यक्ष केपी शर्मा ओलीले पनि बैठकमा पूर्वराष्ट्रपति भण्डारी अब “कमरेड” नभई “सम्माननीय पूर्वराष्ट्रपति” भएको औपचारिक घोषणा गर्नुभएको थियो।

यस निर्णयप्रति उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले असहमति जनाउनु भएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो। यसैबीच, बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पुनः नेतृत्वमा निरन्तरता दिने तयारीसहित ७० वर्ष उमेर हद र दुई कार्यकालको सीमा हटाउने विधान संशोधन प्रस्तावलाई पनि स्वीकृति दिएको छ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलको संगठनात्मक प्रतिवेदनलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो। उक्त प्रतिवेदनमाथि पोलिटब्युरो सदस्यसहित २६४ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। बैठकले अब १५ जना पदाधिकारी र पोलिटब्युरोसहित २५१ जना केन्द्रीय सदस्य बनाउने निर्णय पनि गरेको छ।

एमालेको विधान अधिवेशन आगामी भदौमा हुने तय गरिएको छ, जसमा यी निर्णयहरूलाई वैधानिकता दिने तयारी छ। पार्टीका नेताहरूले अबको अभियान ‘मिसन–८४’ मा केन्द्रित हुने बताएका छन्।

Facebook Comments Box