सिरहाको बेतौनावासीको गुनासो : “हाम्रो आवाज सुन्ने कोही भएन”
सिरहा, ६ साउन – सिरहाको गोलबजार नगरपालिका–१२ स्थित बेतौना पालटोलका बासिन्दा पछिल्लो दशकदेखि आधारभूत विकासको प्रतीक्षामा छन्। दुईपटक स्थानीय निर्वाचन सम्पन्न भइसकेको भए पनि उनीहरूले न त पक्की बाटो देखेका छन्, न खानेपानीको व्यवस्था पाएका छन्, न त अन्य पूर्वाधारको सुविधा नै।
एक सयभन्दा बढी घरधुरी रहेको पालटोल बस्ती अझै पनि प्राथमिक सुविधाबाट वञ्चित छ। वरपरका गाउँमा सडक ढलान, मन्दिर निर्माण, पाहुनाघर र विद्युतीकरणजस्ता विकास पूरा भइसकेका छन्, तर पालटोलको अवस्था भने जस्ताको तस्तै छ। स्थानीय पूर्वशिक्षक शम्भु राउत भन्छन्, “हामी विपक्षी ठहरिएका छौँ, त्यसैले जनप्रतिनिधिले उपेक्षा गरेका छन्। वडादेखि पालिकासम्म गुहार गर्दा पनि सुनुवाइ छैन।”
७८ वर्षीय सुकदेव राउत त झन् बेस्सरी पीडित छन्। “पानीसम्म ल्याएर पिउनुपर्छ,” उनी भन्छन्। अन्य स्थानीयले समेत बस्तीलाई दलगत विभाजनका कारण योजनाबाट टाढा राखिएको आरोप लगाएका छन्। वडाध्यक्ष गणेशकुमार मुखिया भने स्रोत अभावकै कारण काममा ढिलाइ भएको स्वीकार गर्छन्। “पालटोल बेवास्ताको सूचिमा छैन। हामी एकैपटक प्रभावकारी तरिकाले सडक ढलानको काम गर्न चाहन्छौँ,” उनले बताए।
नगरप्रमुख श्यामकुमार श्रेष्ठका अनुसार पालिकाले पालटोलको अवस्था बुझेको छ र नीति तथा कार्यक्रममा यस क्षेत्रलाई समेट्ने प्रयास भइरहेको छ। “बजेटको सन्तुलनसहित सबै वडामा विकास पुर्याउने हाम्रो प्राथमिकता हो,” उनले बताए। तर दशक लामो प्रतीक्षा, बारम्बारको माग र राजनीतिक आश्वासनबीच पनि कुनै ठोस काम नहुनु पालटोलबासीका लागि अब निराशा मात्र होइन, चिन्ताको विषय बनेको छ। स्थानीयको एउटै आवाज छ – “हाम्रो आवाज सुन्ने कोही भएन।”

