अर्थमन्त्री पौडेल र सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, चार परियोजनामा समझदारी
काठमाडौँ, ५ साउन – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग (CIDCA) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच आज अर्थ मन्त्रालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।
भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, हाल सञ्चालनमा रहेका परियोजना र आगामी सहयोगका सम्भावनाहरूका बारेमा गहिरो छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
चार परियोजनामा समझदारी पत्रमा हस्ताक्षर
भेटपछिको अवसरमा दुई देशबीच चारवटा परियोजनाका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ:
-
बोनम्यारो ट्रान्सप्लान्ट परियोजना –
चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट सेवा निर्माणका लागि। -
निजामती कर्मचारी अस्पतालको विस्तार –
सम्भाव्यता अध्ययनका लागि सहमति।यी दुई परियोजनामा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट CIDCA अध्यक्ष सियाओदोङ्गले हस्ताक्षर गर्नुभयो।
-
मानव संसाधन विकाससम्बन्धी समझदारी –
यसअन्तर्गत १,२०० भन्दा बढी सरकारी कर्मचारीहरूले चीनका विभिन्न संस्थाहरूले आयोजना गर्ने द्विपक्षीय तथा बहुपक्षीय सेमिनारहरूमा सहभागिता जनाउने अवसर पाउनेछन्। -
रसुवागढी–केरुङ अन्तरदेशीय विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन –
MoU मा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र CIDCA अध्यक्षले हस्ताक्षर गर्नुभयो।
रसुवामा पुनःनिर्माणमा चीनको सहयोग
भेटका क्रममा अध्यक्ष सियाओदोङ्गले केही समयअघि बाढीले क्षति पुर्याएका रसुवा जिल्लाका भौतिक संरचनाहरूको पुनःनिर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, भन्सार प्रक्रिया छिटो सञ्चालन हुनेगरी सहयोग पुर्याइने पनि जानकारी दिनुभयो।
अर्थमन्त्री पौडेलले चिनियाँ पक्षलाई धन्यवाद दिँदै भन्नुभयो,
“विपद् लगत्तैको पुनःनिर्माण हाम्रो उच्च प्राथमिकता हो। आयात–निर्यात मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्वपूर्ण भएकाले पुनःनिर्माण कार्यलाई छिटो अघि बढाइनेछ।”

