ओलीद्वारा पूर्वराष्ट्रपति भण्डारीको प्रवक्ता नबन्न नेताहरूलाई सुझाव

काठमाडौँ, ५ साउन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेताहरूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न आग्रह गरेका छन्।

पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकको सुरुवातमा अध्यक्ष ओलीले भण्डारीले हालसम्म कुनै सार्वजनिक धारणा नदिएकाले अन्य नेताले उनको तर्फबाट धारणा दिनु उचित नभएको बताउनु भयो।

ओलीले पूर्वराष्ट्रपति भण्डारीको अघिपछि लाग्दै हिँड्ने नेताहरूप्रति असन्तुष्टि प्रकट गर्दै चुनावमा पराजित नेताहरू पनि पछ्याउँदै हिँडेकोप्रति आपत्ति जनाए। “जता पनि पछ्याउनुपर्ने? चुनाव हारेकाहरूले पनि पछ्याउँदै हिँड्ने?” बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक नेताले बताए।

अध्यक्ष ओलीले भण्डारीसँग बालुवाटारमा भेट भएको स्वीकार गर्दै उहाँले पार्टी कार्यालय च्यासल नगएकाले त्यहाँ भेटघाट भएको स्पष्ट गरे। “पूर्वराष्ट्रपति र प्रधानमन्त्री भेट्दा के ठूलो कुरा भयो?” भन्दै उनले भण्डारीसँगको भेटलाई अनावश्यक रूपमा ठूलो बनाइएकोप्रति असन्तुष्टि जनाए।

बैठकमा ओलीले पार्टीभित्र गालीगलौज र अस्वस्थ गतिविधि बढिरहेको भन्दै त्यसप्रति कडा आलोचना गरे। उनले मोहनविक्रम सिंहले गालीको राजनीति सैद्धान्तिक बनाएको र त्यसलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तार गरेको आरोप लगाए।

राजनीतिक हमलाबारे टिप्पणी गर्दै उनले एमालेमाथि भइरहेका आलोचनाहरू योजनाबद्ध र लगानीसहितका भएको दाबी गरे। “यी हमला यत्तिकै भएका होइनन्, लगानी गरेर भएका हुन्,” ओलीले भने।

उनले पार्टीले अघि सारेको ‘मिसन ०८४’ सफल पार्न सबै नेता र कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गर्दै, बहुमतबिना शासन सम्भव नहुने धारणा राखे।

यसैबीच, ओलीले ७० वर्षे उमेर हद हटाइएको विषयमा बोल्दै त्यो प्रस्ताव आफैले सातौँ महाधिवेशनमा ल्याएको स्मरण गराउँदै, अहिलेको राजनीतिक परिस्थिति फरक भएकाले निर्णय फेरिएको स्पष्ट गरे।

Facebook Comments Box