झापामा एक वर्षमा १,२९६ सवारी दुर्घटना, ९५ जनाको मृत्यु
झापा, ३ साउन – आर्थिक वर्ष २०८१/८२ मा झापामा एक हजार २९६ सवारी दुर्घटना भएका छन्, जसमा ९५ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा १,९३४ जना सामान्य र १३९ जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार उक्त अवधिमा ५२ हजार ८७५ सवारी चालकलाई कारबाही गरिएको छ। कारबाहीबाट तीन करोड ९५ लाख ५५ हजार ५६० रुपैयाँ राजस्व संकलन भएको छ।
मादक पदार्थ सेवन (मापसे)मा संलग्न ३,१७४ चालकलाई जरिवाना गरिएको छ, जसबाट १८ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ। ट्राफिक सचेतनामूलक अभियानअन्तर्गत ८,४६१ विद्यालयस्तरीय विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी कक्षा दिइएको छ भने १,२५० जनालाई मापसे सचेतना प्रशिक्षण प्रदान गरिएको छ।
झापामा ट्राफिक व्यवस्थापन प्रविधिमैत्री बनाउन ‘ट्राफिक भायोलेशन रेकर्ड सिस्टम (TVRS)’ र अनलाइन जरिवाना तिर्ने व्यवस्था लागू गरिएको छ। गत वर्ष सवारी नियमनका लागि ७० रिफ्लेक्टर बेल्ट, ३० ट्राफिक साइन बोर्ड, ४ म्याजिक लाइट, ३ ब्रीथालाइजर, ७ कम्प्युटर, १ गोप्रो क्यामेरा र १ ल्यापटप प्रयोगमा ल्याइएको कार्यालयले जनाएको छ।
सडक सुरक्षाका लागि विभिन्न स्थानीय तह, विद्यालय, अस्पताल, सञ्चार संस्था तथा सामुदायिक केन्द्रसँग सहकार्य गर्दै कक्षा ६ देखि १० का विद्यार्थी, अटो/सिटी चालक लगायतलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रमुख पौडेलले जानकारी दिए।

