चन्दा संकलनबाट २७.५ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी, ३२ असार – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित धार्मिक तथा पर्यटकीय स्थल खयरबाराही (खयरभारानी) तालसम्म पुग्ने २७ दशमलव ५ किलोमिटर लामो पदमार्ग चन्दा संकलनबाट निर्माण गरिएको छ। खयरभारानी थान तथा क्षेत्र संरक्षण तथा व्यवस्थापन समितिको अगुवाइमा रु १ करोड ७० लाख बराबरको सहयोग संकलन गरी पदमार्ग, चौतारी, खानेपानी सुविधा र आश्रयस्थल निर्माण गरिएको हो।

समितिका संस्थापक तथा सेवा निवृत्त बेलायती गोर्खा सैनिक राजु पुनको नेतृत्वमा वि.सं. २०७२ सालदेखि पाउद्वारदेखि खयरताल जोड्ने पदमार्ग निर्माण अभियान थालिएको थियो। उनले जनाएअनुसार १० वर्षको अवधिमा ६७ जना दाताबाट सहयोग जुटाइएको हो।

पदमार्ग तीन भागमा विभाजन गरिएको छ —

  • पाउद्वार–लरेनी (४.५ किमी): १७ जना दाताको सहयोग

  • लरेनी–खोप्रा (११ किमी): २३ जना दाताको सहयोग

  • खोप्रा–खयर (१२ किमी): २७ जना दाताको सहयोग

भिरालो पाखामा ढुङ्गाको सिँढी चिनेर बनाइएको पदमार्गले स्थानीय, तीर्थयात्री तथा पर्यटकहरूलाई आवतजावतमा सहज बनाएको छ। साथै, विभिन्न स्थानमा चौतारी र खानेपानीको सुविधा मिलाइएको छ। निर्माणकर्ताहरूको नाम उल्लेख गरेर शिलालेख पनि राखिएको छ।

धार्मिक महत्त्व बोकेको खयरबाराही तालमा प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा विशेष मेला लाग्ने गर्दछ। यस दिन यहाँ करिब १,२०० भक्तजन पूजाआजा र दर्शन गर्न पुग्ने गर्छन्। मान्यता अनुसार, यहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ।

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको खोप्रा लेकबाट धौलागिरि र अन्नपूर्ण हिमश्रृङ्खलाका साथै सूर्योदय–सूर्यास्तको दृश्य अवलोकन गर्न सकिन्छ। समुद्री सतहबाट ३६६० मिटर उचाइमा रहेको यो क्षेत्र चौरी र भेडाबाख्राको गोठ, सामुदायिक लज र पदयात्राका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ।

वडाध्यक्ष राजेश तिलिजा पुनका अनुसार सो क्षेत्रको पर्यटन पूर्वाधार निर्माणमा सरकारी निकायको तुलनामा समुदायको लगानी बढी छ। पछिल्ला दुई वर्षमा पर्यटन तथा उद्योग कार्यालयबाट रु ३२ लाख र अन्नपूर्ण गाउँपालिकाबाट करिब रु २० लाख खर्च भएको छ।

Facebook Comments Box