बीपी राजमार्गमा रातिको सवारी एक महिनाका लागि निषेध
काभ्रेपलाञ्चोक, ३१ असार – मनसुनका कारण बाढी र पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्न बीपी राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
काभ्रेपलाञ्चोक र सिन्धुलीका जिल्ला प्रशासन कार्यालयले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आगामी साउन १ गतेदेखि लागू हुने गरी साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको जानकारी दिएका छन्।
यसअघि असार ७ गतेदेखि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको थियो। अब उक्त अवधि डेढ घण्टा थप गर्दै साँझ ५ बजेदेखि नै निषेधाज्ञा लागू गरिने छ।
काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार देशभर सक्रिय मनसुनका कारण जबसुकै बाढी, पहिरोजस्ता विपद् आउने जोखिम रहेकोले यात्रु सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।
जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी नेतृत्वमा बसेको बैठकले काभ्रेभञ्ज्याङ्ग–भकुण्डेवेशी हुँदै सिन्धुली जाने राजमार्ग खण्डमा एक महिनाका लागि रातिको सवारी पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको हो।
उक्त प्रस्तावअनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि विज्ञप्ति जारी गर्दै निर्णयमा सहमति जनाएको छ। सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले काभ्रे प्रशासनलाई सम्बोधन गर्दै उक्त निर्णय १ साउनदेखि एक महिनासम्म लागु हुने जनाएका छन्।
यसअघि काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको सिन्धुलीको खुर्कोटमा बसेको बैठकले पनि बाढी–पहिरोको जोखिम न्यूनीकरणका लागि रातिको सवारीमा अस्थायी रोक लगाउने निर्णय गरेको थियो।

