देशभर हालसम्म ५९ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ, ३० असार ( देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको हो।यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै ८ प्रतिशतले कम हो। गत वर्ष यसै समयमा करिब ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।

प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी प्रगति भएको छ, जहाँ १ लाख ६४ हजार हेक्टरमा रोपाइँ भइसकेको छ, जुन कुल क्षेत्रफलको ९३ प्रतिशत हो। कर्णाली प्रदेशमा ६४ हजार हेक्टर (८३ प्रतिशत) र लुम्बिनी प्रदेशमा २ लाख २३ हजार हेक्टर (७३ प्रतिशत) मा रोपाइँ सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशका विभिन्न भागमा अझै रोपाइँ जारी छ। साउनको अन्तिम सातासम्म कुल ९८ प्रतिशत रोपाइँ पुग्ने अनुमान गरिएको छ। मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार धान उत्पादनमा तराई क्षेत्र प्रमुख मानिन्छ। कुल उत्पादनको करिब ७० प्रतिशत योगदान तराईबाट हुने गरेको छ, भने बाँकी ३० प्रतिशत पहाडी क्षेत्रबाट प्राप्त हुने गरेको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष भने मौसमको प्रतिकूलता, अतिवृष्टि, अनावृष्टि र दैवी प्रकोपका कारण कतिपय क्षेत्रमा रोपाइँ ढिलो भएको मन्त्रालयले जनाएको छ।नेपालमा करिब १४ लाख हेक्टर जमिनमा धान रोपाइँ हुने गर्दछ। पछिल्लो समय बीउ, प्रविधि, ज्ञान र सीपमा आएको विकासले उत्पादनमा सुधार हुने अपेक्षा गरिएको छ।

मन्त्रालयले जनाएको छ कि धान उत्पादनमा १० प्रतिशतको उतारचढावले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतको असर पार्न सक्छ। यस वर्ष करिब ६० लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान छ, जसबाट करिब ३५ लाख मेट्रिकटन उपभोग्य चामल उत्पादन हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box