पर्वतीय क्षेत्रमा बढ्दो जोखिम, हिमताल विस्फोटको त्रास
काठमाडौँ, २७ असार – गत मङ्गलबार रसुवास्थित नेपाल–चीन सीमाको ल्हेन्दे खोलामा एक्कासि आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ। घटनामा अहिलेसम्म १९ जना बेपत्ता छन् भने ७ जनाको ज्यान गएको छ। ३० मेगावाट क्षमताको जलविद्युत् आयोजना ध्वस्त भएको छ, मितेरी पुल बगेको छ र सयौँ इलेक्ट्रिक सवारीसाधन बाढीले बगाएको छ। यसले चीनसँगको व्यापारसमेत पूर्णरूपमा अवरुद्ध बनाएको छ।
जल तथा मौसम विज्ञान विभागले बाढीको कारण हिमताल विस्फोट (Glacial Lake Outburst Flood – GLOF) भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। विभागका बाढीविज्ञ विनोद पराजुलीका अनुसार रसुवागढीको ५१५० मिटर उचाइमा रहेको सुप्राग्लेसियर ताल फुटेपछि बाढी आएको अनुमान गरिएको हो।
सुप्राग्लेसियर ताल के हो?
सुप्राग्लेसियर तालहरू हिमनदीको सतहमै बन्ने साना अस्थायी पोखरीहरू हुन्, जुन समयक्रममा ठूलो तालमा परिणत हुन्छन्। ढुंगामाटोले ढाकिएका क्षेत्रमा यस्ता तालहरू देखिने भए पनि उपग्रहमार्फत चिन्ह लगाउन कठिन हुन्छ। ल्यान्डसेट र सेन्टिनेल टु जस्ता प्रविधिबाट मात्रै यिनीहरूको अनुगमन सम्भव छ। ल्हेन्दे खोलाको ताल २०२४ को डिसेम्बरमा सानो पोखरी थियो, जुन २०२५ को जुनसम्ममा तीव्र फैलिएको थियो। हालको घटनामा तालको क्षेत्रफल ०.७५ किमी² बाट घटेर ०.६० किमी²मा झरेको देखिएको छ।
दोहोरिइरहेका खतरनाक घटना
इसिमोडका अनुसार यस्तै प्रकारको बाढी यसअघि पनि सोलुखुम्बुको थामेमा आएको थियो। त्यहाँको सुप्राग्लेसियर ताल फुट्दा एक्कासी आएको बाढीले क्षणभरमै गाउँ बगरमा परिणत भएको थियो। सन् १९८५ मा खुम्बुस्थित डिजछो ताल फुट्दा ३० लाख अमेरिकी डलर बराबरको क्षति भएको थियो।
तापमान वृद्धिको असर
विज्ञहरूका अनुसार हाल देखिएका यी हिमताल विस्फोटहरू जलवायु परिवर्तनका दुष्प्रभाव हुन्। डब्लुएमओको प्रतिवेदन अनुसार २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनेको छ, जहाँ विश्व तापमान औद्योगिक क्रान्तिअघिको तुलनामा औसत १.५४ डिग्री सेल्सियसले बढेको देखिएको छ।
एलनिनो प्रभाव र समुद्री सतहमा वृद्धिले समेत जलवायु अस्थिरता थपिएको छ। २०२३ मा मात्रै ग्लेसियरले १.२ मिटर पानी बराबरको बरफ गुमाएको थियो, जुन १९५३ यता कै उच्च हो। हिन्दूकुश हिमालय क्षेत्रमा तापक्रम वृद्धिको असर विश्व औसतको तुलनामा तीन गुणा बढी देखिएको छ।
बढ्दो खतरा र सतर्कता
इसिमोडले २०२५ को मे र जुन महिनामा मात्र नेपाल, अफगानिस्तान र पाकिस्तानमा तीन वटा हिमनदीजन्य बाढी देखापरेको जनाएको छ। रसुवा र मुस्ताङमा मात्र असार २४ गते दुईवटा बाढीका घटना भएका थिए। अध्ययन अनुसार सदीको अन्त्यसम्ममा यस्तो खतरा तीन गुणा बढ्न सक्ने अनुमान गरिएको छ। तर पूर्वसूचना प्रणालीको विकास अझै सीमित छ। हाल नेपालमा इम्जा र छो–रोल्पा तालबाहेक अन्य हिमतालहरूमा प्रभावकारी चेतावनी प्रणाली छैन।
जोखिम न्यूनीकरणका पहल
नेपालले हालै हरित जलवायु कोष (GCF) मार्फत चार उच्च जोखिमयुक्त हिमतालको सतह घटाउने योजना अघि बढाएको छ। यसका लागि करिब रु ५ अर्ब बराबरको अन्तर्राष्ट्रिय अनुदान स्वीकृत भएको छ। परियोजना युएनडिपी को साझेदारीमा कार्यान्वयन हुँदैछ। नेपालको राष्ट्रिय अनुकूलन योजना अनुसार यस्ता थप दर्जनौँ परियोजनाहरूको खाँचो छ। नेपाल सरकारले युएनडिपी र निजी क्षेत्रको सहकार्यमा २ अर्ब रुपैयाँभन्दा बढी सहलगानीको प्रतिबद्धता जनाइसकेको छ।
४७ हिमताल जोखिममा
इसिमोड र युएनडिपीको संयुक्त अध्ययन अनुसार नेपाल, भारत र चीनमा अवस्थित ४७ वटा हिमताल कुनै पनि बेला फुट्न सक्ने जोखिममा छन्। तीमध्ये २५ चीन, २१ नेपाल र १ भारतमा पर्दछन्। केही हिमताल अत्यन्त संवेदनशील मानिएका छन्, जसको फुटाइबाट अर्बौँ रुपैयाँ बराबरको आर्थिक र ठूलो जनधनको क्षति हुनसक्ने देखाइएको छ।
पर्वत जोगाउने अन्तरराष्ट्रिय प्रयास
नेपालले हरेक वर्ष जलवायु परिवर्तन सम्मेलन (COP) मा पर्वतीय क्षेत्रहरू जोगाउन अन्तरराष्ट्रिय सहयोगको माग गर्दै आएको छ। नेपालले वैश्विक जलवायु संकटमा नगन्य भूमिका खेले पनि गम्भीर असर भोगिरहेको भन्दै जलवायु न्यायका लागि आवाज उठाउँदै आएको छ। यस्तै उद्देश्यले नेपालले जेठमा सगरमाथा संवाद आयोजना गरेको थियो, जसले हिमालदेखि समुद्रसम्मको प्रभाव क्षेत्रीय तहमा जोड्न प्रयास गर्यो।

