असारे खडेरीले रोपाइँ रोकिँदा किसान चिन्तित
झापा, २७ असार – समयमै वर्षा नहुँदा झापाका अधिकांश किसान असार मसान्तसम्म पनि धान रोप्न नपाएर चिन्तित भएका छन्। पर्याप्त वर्षा नहुँदा खेत सुक्खा छन् भने बिउ रोप्ने म्यादसमेत सकिन लागेपछि कृषकको मेहनत र लगानी जोखिममा परेको छ।
मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरेले आफ्नो दुई बिघा खेतमा अझै रोपाइँ सुरु गर्न सकेका छैनन्। “गरा भरिने गरी पानी पर्ला भनेर आशामा बसेको महिनौँ भयो,” घिमिरे भन्छन्, “ब्याडमा राखिएको बीउ छिप्पिसक्यो, तर रोप्ने अवस्था छैन। अब त यो वर्ष धान रोप्न पाइन्छ जस्तो छैन।”
अर्जुनधारा नगरपालिका–८ का किसान श्याम अधिकारी पनि खडेरीका कारण धान रोप्न नसकेको बताउनुहुन्छ। पाँच वर्षदेखि एक बिघा खेत वार्षिक ५० हजार रुपैयाँमा भाडामा लिएर खेती गर्दै आउनुभएका अधिकारीको चिन्ता अहिले खेत रोप्न नपाउँदा कसरी भाडा तिर्ने भन्नेमा छ।
झापाका अधिकांश खेत सिँचाइ सुविधा विहीन छन्। कुलो तथा बोरिङजस्ता वैकल्पिक उपाय नभएको हुँदा कृषक अकासे पानीमा निर्भर छन्। यही कारण समयमै वर्षा नहुँदा रोपाइँ प्रभावित भएको हो। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार हालसम्म जिल्लामा जम्मा २१ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। “कूल रोपाइँमध्ये अधिकांश कुलो वा भूमिगत सिँचाइ प्रणाली भएका ठाउँहरूमा मात्र सम्भव भएको हो,” विष्टले बताए।
यस वर्ष कोशी प्रदेशमा मनसुन जेठ १५ गते नै प्रवेश गरिसकेको थियो। तर झापामा मनसुनको सुरुवाती झरीपछिका दिनहरूमा धान खेतीका लागि आवश्यक मात्रामा वर्षा भएको छैन। जेठ १७ गतेको ठूलो वर्षा र माईखोलाको बाढीले झापामा २२ घर डुबाएको थियो। त्यसयता रोपाइँका लागि उपयोगी वर्षा भएको छैन।
झापामा कुल ९८ हजार ७१६ हेक्टर खेतीयोग्य जमिनमध्ये ७५ हजार ५५९ हेक्टरमा धानखेती गरिँदै आएको छ। सिँचाइ अभावका कारण खासगरी अगुवा जातका छिटो पाक्ने धान समयमै रोप्न नपाउँदा उत्पादनमा गम्भीर असर पर्ने देखिएको छ।
जिल्लामा कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायत सिँचाइ आयोजना सञ्चालित छन् भने कचनकबल, कमल, गौरादह, बिर्तामोड, मेचीनगरलगायत क्षेत्रका केही भागमा भूमिगत सिँचाइको सुविधा छ। तर अझै पनि धेरैजसो जग्गा अकासे पानीमै निर्भर छ, जसले मनसुनमा अनियमितता आएलगत्तै किसानको उत्पादन जोखिममा पर्न थालेको छ।

