इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकको आन्दोलन

पाटन (ललितपुर), २६ असार – त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (IOE) मा स्वायत्तता सुनिश्चित गर्न माग गर्दै प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन्। बुधबार ललितपुरको पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा इन्जिनियरिङ अध्ययन संस्थानका इकाइहरू, वैचारिक सङ्गठनहरू र प्राध्यापक सङ्घका प्रतिनिधिहरूले त्रिवि केन्द्रीय प्रशासनको हस्तक्षेपले प्रशासनिक, वित्तीय र अनुसन्धान स्वायत्तता गुमेको भन्दै आन्दोलन सुरु गरिएको जानकारी दिएका छन्।

प्रा. डा. सङ्गीता सिंहका अनुसार, असार १९ गतेदेखि नै अनिश्चितकालीन आन्दोलन सुरु भइसकेको हो। “हाम्रो माग संस्थानको स्वायत्तता सुनिश्चित गर्ने हो, अन्तरराष्ट्रियस्तरको अनुसन्धानमा केन्द्रित हुनुपर्छ,” उहाँको भनाइ थियो। सिभिल इन्जिनियरिङ विभागका प्राध्यापक रोशन कार्कीले सरकारद्वारा प्राविधिक जनशक्ति उत्पादनका लागि स्थापना गरिएको संस्थानको ‘रिसर्च एन्ड डेभलपमेन्ट’ गतिविधिमा त्रिविको हस्तक्षेपले असर परेको बताए। २०८० सालको सिनेट निर्णयले संस्थाको स्वायत्तता खोसेको भन्दै उहाँले आपत्ति जनाए।

प्रा. डा. सुदीप भट्टराईले त्रिविका पाँचवटा आङ्गिक क्याम्पसलाई स्वायत्तता दिनुपर्ने मागसहित ५४ जना प्राध्यापकले विभागीय जिम्मेवारीबाट राजीनामा दिएको बताए।थापाथली क्याम्पस इकाइ समितिका सभापति डा. श्रीहरि थापाले व्यक्तिगत भन्दा संस्थागत हितका लागि आन्दोलन गरिएको बताए।

प्राध्यापकहरूले उपकुलपतिसमक्ष मागपत्र बुझाइसकेका छन्। माग पुरा नभएसम्म सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने निर्णयसहित आन्दोलन जारी रहेको प्राध्यापक कार्कीले जानकारी दिए।

Facebook Comments Box