आषाढ शुक्ल एकादशीः घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ, २२ असार – आज आषाढ शुक्ल एकादशीका अवसरमा सनातन धर्मावलम्बीहरूले घरघरमा तुलसीको बिरुवा सार्ने परम्परा पालना गरिरहेका छन्। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीमा रोपिएको दलको बिरुवा आज तुलसीको मोठमा सारिन्छ, जसको साथ चार महिनासम्म विशेष पूजा आराधना गरिन्छ।

वैदिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयनमा रहनुहुने विश्वास गरिन्छ। यही कारण यो दिनलाई हरिशयनी एकादशी भनिन्छ। भगवान् विष्णुको शयनकालका चार महिनालाई चतुर्मास पनि भनिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार चतुर्मास अवधिमा विशेष धार्मिक आस्था र विधिपूर्वक व्रत गरिने परम्परा छ। एक वर्षमा पर्ने २४ एकादशीमध्ये सक्नेले सबै दिन व्रत बसे पनि नसक्नेले चतुर्मासअन्तर्गत पर्ने ८ एकादशी, र अझ व्यस्त जीवनशैली भएका श्रद्धालुले मात्र हरिशयनी र हरिबोधिनी एकादशीमा व्रत बस्ने चलन रहेको बताइएको छ।

आजको दिन राजधानीको बूढानीलकण्ठ, चार नारायण क्षेत्र र देशभरका विष्णु तथा नारायण मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। व्रतधारीहरूले आजका दिन चामलजन्य परिकार नखाई, फलाहार तथा रोटी, ढिँडो जस्ता परिकार सेवन गर्दै पूजा गर्छन्।

धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक रूपमा पनि तुलसी अत्यन्तै लाभकारी मानिन्छ। तुलसी भएको स्थानमा अधिक अक्सिजन पाइने, विषालु कीटाणु नआउने, तथा वातावरण शुद्ध रहन सहयोग पुग्ने वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन्।
वास्तु दोष भएका स्थानहरूमा तुलसी रोप्दा सकारात्मक ऊर्जा प्रवाह हुने विश्वाससमेत गरिन्छ।

चतुर्मास अवधिभर पूजा गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीका दिन भगवान् दामोदरसँग विवाह गराउने वैदिक परम्परा छ। तुलसी–दामोदर विवाहपछि अग्निस्थापना गरी हवन सम्पन्न गरेर चतुर्मास व्रतको उद्यापन गरिन्छ।

Facebook Comments Box