भोजपुरमा एकै परिवारका चार जनाको सामूहिक हत्या, एक गम्भीर घाइते
भोजपुर, २२ असार – भोजपुरको रामप्रसाद राई गाउँपालिकामा गएराति एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ। घटनामा एक जना गम्भीर घाइते भएका छन्। रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानी बोन्थिताङमा चार जनाको शव आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक विवादकै कारण हत्या भएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार भोजपुर नगरपालिका–२ हेलाउछ बस्ने राजेन्द्र राईले आफ्नै ससुरालीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्। हतियार प्रहारबाट राजेन्द्रकी श्रीमती, सासु ४५ वर्षीया मञ्जु गिरि, ससुरा ६२ वर्षीय बेलबहादुर गिरि र सालाको मृत्यु भएको छ। सालाको परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
हतियार प्रहारपछि राजेन्द्र राई स्वयं पनि गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार उनले आफैंमाथि पनि धारिलो हतियार प्रयोग गरेका हुन्। घटनापछि तत्काल उद्धार गरी जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।
“घटना गएराति सवा १ बजेतिर भएको प्रारम्भिक तथ्य देखिन्छ,” प्रहरी निरीक्षक श्रेष्ठले भने, “ससुराली गएका राईबीच विवाद चर्किएपछि मध्यराति आक्रमण भएको देखिन्छ।” प्रहरीले घटनास्थलमा पुगेर विस्तृत अनुसन्धान सुरु गरेको छ। थप विवरण संकलनको कार्य जारी रहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिएका छन्।

