प्रधानमन्त्री ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किए
काठमाडौँ, २० असार – प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभिया शहरमा सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किनुभएको छ।
उहाँ यही असार १४ गते राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान गर्नुभएको थियो।
असार १६ देखि १९ गतेसम्म सेभियामा आयोजित ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (FFD–4)’ मा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट भाग लिनुभएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्याल लगायत उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा निकाय प्रमुखहरूले स्वागत गरेका थिए। नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीप्रति सम्मान गारत अर्पण गरेको थियो।
स्पेन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट गर्नुका साथै समकक्षी प्रधानमन्त्री सान्चेजसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो।
साथै विभिन्न राष्ट्रप्रमुख, सरकार प्रमुख, अन्तर्राष्ट्रिय निकाय, वित्तीय संस्था, निजी क्षेत्र, नागरिक समाज लगायतसँग पनि भेटघाट र विचारविनिमय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्मेलनमा अल्पविकसित, साना तथा टापु राष्ट्रहरूका विकास चुनौतीहरूबारे नेपालको धारणा प्रस्तुत गरिएको थियो। सम्भावित लगानीका चुनौती घटाउँदै दिगो विकास सुनिश्चित गर्ने विषयमा सम्मेलन केन्द्रित भएको मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्रीसँगै उहाँकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय तथा मन्त्रिपरिषद् सचिवालयका सचिव राजकुमार श्रेष्ठ लगायतको प्रतिनिधिमण्डल पनि आजै स्वदेश फर्किएको छ।

