सुनसरीका चार स्थानीय तहले आगामी वर्षको बजेट सार्वजनिक

सुनसरी, ११ असार – सुनसरी जिल्लाका चार स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। बजेट सार्वजनिक गर्ने स्थानीय तहहरूमा इटहरी उपमहानगरपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र बर्जु गाउँपालिका रहेका छन्।

इटहरी उपमहानगरपालिकाको रु २ अर्ब ५५ करोडको बजेट
इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्षभन्दा करिब रु १ अर्ब २५ लाख कमको बजेट सार्वजनिक गरेको हो। उपप्रमुख सङ्गीता चौधरीका अनुसार चालुतर्फ रु १ अर्ब ४ करोड ११ लाख १० हजार र पुँजीगततर्फ रु १ अर्ब ५० करोड १९ लाख ९० हजार गरी कुल रु २ अर्ब ५५ करोड २१ लाखको बजेट प्रस्तुत गरिएको छ।

बजेट व्यवस्थापनका लागि आन्तरिक स्रोतबाट रु ५८ करोड र सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा नगद मौज्दातबाट रु ९ करोड ६७ लाख आम्दानी हुने अनुमान गरिएको छ।

हरिनगर गाउँपालिकाको बजेट ५८ करोड
हरिनगर गाउँपालिकाले कुल रु ५८ करोड ५४ लाख २ हजारको बजेट प्रस्तुत गरेको उपाध्यक्ष रिमझिमकुमारी भगतले जानकारी दिनुभयो।

आयतर्फ संघीय सरकारको वित्तीय समानीकरण, सशर्त र समपूरक अनुदान, राजस्व बाँडफाँड, प्रदेश सरकारको अनुदान तथा स्थानीय आन्तरिक स्रोत समावेश छन्। व्ययतर्फ चालू खर्च रु ४१ करोड ११ लाख र पूँजीगत खर्च रु १७ करोड ४३ लाख दुई हजार रहेको छ।

हालसम्म गाउँपालिकाको खर्च प्रगति ६६.६६ प्रतिशत रहेको जनाइएको छ। संघीय तथा प्रदेश सरकारबाट बजेट कटौती भएको कारण खर्च लक्ष्यअनुसार नभएको बताइएको छ।

देवानगञ्ज र बर्जुको बजेट
देवानगञ्ज गाउँपालिकाले कुल रु ५३ करोड ८८ लाख ६५ हजार ४१० को बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष कुमारी विभा यादवले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरिएको जानकारी दिनुभयो।

त्यस्तै, बर्जु गाउँपालिकाले रु ५९ करोड १३ लाख ६० हजार ७४७ को बजेट ल्याएको उपाध्यक्ष नितु चौधरीले जानकारी दिनुभयो।

धरानमा भने अन्योल
जिल्लाका अधिकांश ११ स्थानीय तहले समयमै बजेट सार्वजनिक गरिसकेका छन्। तर, धरान उपमहानगरपालिकामा भने विवादका कारण अहिलेसम्म नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुन सकेको छैन।

यद्यपि स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र बजेट प्रस्तुत गरिसक्नुपर्ने कानुनी व्यवस्था छ, धरानमा कहिले बजेट आउने भन्ने टुङ्गो अझै लाग्न सकेको छैन।

Facebook Comments Box