नेपालमा विविध कार्यक्रमसहित अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ, ७ असार – आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय योग दिवस विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष जुन २१ मा मनाइने यो दिवसले शरीर, मन र आत्माको समन्वयमार्फत स्वस्थ जीवनशैलीको सन्देश फैलाउने उद्देश्य राख्दछ। संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा पारित गरेको प्रस्तावअनुसार सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।

यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महासभाको ६९औँ अधिवेशनमा प्रस्ताव पेश गरेका थिए। नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनसहित राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रहरूले पनि समर्थन जनाएका थिए। अन्तर्राष्ट्रिय दिवसहरूको इतिहासमा जम्मा ९० दिनमै १७७ देशको समर्थन प्राप्त गर्ने कीर्तिमान पनि यही दिवसले राखेको छ।

नेपालमा योग अभ्यासको ऐतिहासिक पृष्ठभूमि छ। वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिहरूले योग अध्ययन र अनुसन्धान गरी प्रतिपादन गरेका थिए। त्यस युगदेखि अस्तित्वमा रहेको योग परम्परा पछिल्लो समय लुप्तप्रायः हुँदै गइरहेकामा पुनर्जागरणको प्रयासस्वरूप योग दिवस घोषणा गरि जनचेतना अभिवृद्धि गरिएको हो।

नेपालमा वि.सं. २०३६ साल माघ १ गतेदेखि सूर्य उत्तरायणको आरम्भसँगै योग दिवस मनाउने चलन रहेको थियो। यसै परम्परालाई मान्यता दिँदै सरकारले वि.सं. २०७२ साउन २८ गतेको मन्त्रिपरिषद् निर्णयबाट माघ १ लाई ‘राष्ट्रिय योग दिवस’ घोषणा गरेको हो। प्रस्ताव तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्य मार्फत् मन्त्रिपरिषद्मा पेश गरिएको थियो।

हाल नेपालमा हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस र जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम र साधनाका माध्यमबाट मनाइन्छ। योग र ध्यानका लागि ‘उत्तरायण’ (सूर्यको उत्तर दिशातर्फको गमन) विशेष समय मानिने भएकाले माघ १ लाई धार्मिक र वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।

नेपाल संस्कृत विश्वविद्यालयमा अहिले छ महिनाको योग तथा प्राकृतिक चिकित्सा पाठ्यक्रम सञ्चालनमा रहेको छ, जसले औपचारिक शिक्षा प्रणालीमार्फत योगको विस्तारमा योगदान दिइरहेको छ।

Facebook Comments Box