काठमाडौँनजिकै साहसिक गन्तव्य: वनजङ्गल एडभेञ्चर
काठमाडौँ, ३ असार — अब साहसिक पर्यटनका लागि काठमाडौँवासीलाई टाढा जानु नपर्ने भएको छ। काठमाडौँ उपत्यकानजिकै, तारकेश्वर नगरपालिका–३ को पाँचमानेमा अवस्थित ‘वनजङ्गल एडभेञ्चर’ साहसिक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ।
यहाँ आन्तरिक पर्यटकका लागि जिपलाइन, रक क्लाइमिङ, बञ्जी जम्प, हाइरोप कोर्ष, क्लाइमिङ वाल, किड्स एडभेञ्चर कोर्ष लगायतका थुप्रै साहसिक क्रियाकलाप उपलब्ध छन्। विशेषगरी नेपालमै पहिलोपटक अनुभव गर्न सकिने रोलर कोस्टर पनि यसै ठाँउमा रहेको छ, जसमा फलामको ट्रयाकमा चक्के सिट बाँधेर घुम्न सकिन्छ। ३० रोपनी क्षेत्रफलमा फैलिएको यो एडभेञ्चर पार्क रिङरोडबाट मात्र १० किलोमिटर टाढा ककनी राजमार्गमा पर्छ।
यहाँ पुग्नेहरूले साहसिक खेलको मज्जा लिनुका साथै हरियाली जङ्गल र स्वच्छ हावाको आनन्द पनि लिन सक्छन्। सञ्चालक एलिसा ढकालका अनुसार, वनजङ्गल एडभेञ्चरले साहसिक खेलप्रेमीका लागि बीमा सुविधा पनि उपलब्ध गराएको छ। यहाँका सबै खेल पर्यटन विभागबाट अनुमति प्राप्त छन्, र पूर्वाधारहरू इन्जिनियरिङ मापदण्डअनुसार निर्माण गरिएका छन्।
पर्यटकहरूका लागि ११ वटा टेन्ट र एक मौलिक नेपाली घर पनि उपलब्ध छन्, जहाँ ढिकी, जाँतो, हलोजस्ता परम्परागत सामग्री समेत अवलोकन गर्न सकिन्छ। विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ। करिब ६ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको यो गन्तव्य साहसिक पर्यटनप्रेमीहरूका लागि काठमाडौँकै नजिक सहज र रोमाञ्चक गन्तव्यका रूपमा स्थापित हुँदैछ।

