विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, १ असार – आकर्षक तलबको प्रलोभनमा अमेरिका र बेलायत पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने नुवाकोट विदुर नगरपालिका–४ का ५१ वर्षीय राजकुमार मानन्धर र काठमाडौँ महानगरपालिका–१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका–२ का ४० वर्षीय ओमबहादुर खत्री रहेका छन्।

राजकुमारले अमेरिका पठाइदिने बहानामा तीन व्यक्तिबाट रु ३५ लाख ६९ हजार ठगी गरेका थिए भने ओमबहादुरले बेलायत पठाइदिने भन्दै एक व्यक्तिबाट रु ६ लाख ७५ हजार लिएका थिए। रकम लिएको केही समयपछि दुवै सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले राजकुमारलाई काठमाडौँ महानगरपालिका–१६ बाट र ओमबहादुरलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरेको हो। पक्राउ परेका राजकुमारलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ भने ओमबहादुरलाई वैदेशिक रोजगार विभाग, ताहाचल बुझाइएको छ।

Facebook Comments Box