वीरगञ्जमा डेङ्गु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

वीरगञ्ज (पर्सा), १ असार – स्वास्थ्य कार्यालय पर्साले यो वर्ष मनसुन सुरु हुनुअघि नै वीरगञ्ज महानगरपालिका अन्तर्गतका ३२ वटै वडा र अन्य पालिकाहरूमा डेङ्गु फैलाउने लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ।

पछिल्ला वर्षहरूमा गरिएको यस्ता अभियानको सकारात्मक परिणाम देखिएकोले यसपालि पनि त्यसलाई निरन्तरता दिइन लागेको हो। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार लामखुट्टेको बासस्थान खोजी र लार्भा नष्ट गर्ने कामलाई अझ प्रभावकारी बनाइनेछ।

“प्रत्येक वडामा १० जनाको टोली बनाएर तीन दिनसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ,” ठाकुरले बताउनुभयो, “लार्भा नष्ट गर्ने तालिका चाँडै सार्वजनिक गरिनेछ।” स्वास्थ्य कार्यालयले लामखुट्टे नष्ट गर्न आवश्यक पर्ने बायोडार्ट औषधिको आपूर्ति गर्दै आएको छ। टोलटोलमा औषधि छर्किनाले लामखुट्टेले विकास गर्न नपाएको जनाउँदै उहाँले यस वर्ष पनि अभियान थप सशक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

हालसम्म १६ वटा औषधि छर्कने ट्याङ्की र एक हजार बायोडार्ट औषधिको झोल वीरगञ्ज महानगरपालिका १ देखि १६ वडासम्म वितरण भइसकेको छ। बाँकी वडाहरूमा पनि औषधि र आवश्यक सामग्री उपलब्ध गराइने स्वास्थ्य कार्यालयले जनाएको छ।

जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरका अनुसार पछिल्ला वर्षहरूमा वीरगञ्जमा डेङ्गु सङ्क्रमणको दर बढ्दो क्रममा छ। चालु आर्थिक वर्षमा १६ हजार ३३४ जनाको परीक्षणमा ४७० जनामा डेङ्गु पोजेटिभ देखिएको छ। अघिल्लो वर्ष चार हजार ७८१ जनामध्ये ३४९ जना सङ्क्रमित थिए भने त्यसअघि २,६६१ जनाको परीक्षणमा १९९ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

यस वर्ष भारतबाट आएका १४ जनामा मलेरिया देखिएपछि आवश्यक उपचार गरिएको जनाइएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सरसफाइ अभियानमार्फत वीरगञ्जलाई सफा राख्ने प्रयास प्रभावकारी भएको बताउनुभयो। “महानगरले दुई वर्षमा मात्रै रु ६६ लाखभन्दा बढी जरिवाना असुलेको छ,” उहाँले भन्नुभयो, “फोहरमैला अनियन्त्रित रूपमा फ्याँक्नेलाई नियन्त्रणमा ल्याइएको छ।”

Facebook Comments Box