कृषि कर्मबाटै चिनिएका गुप्तप्रसाद

नवलपरासी, १४ मङ्सिर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित हुनुभयो । त्यसपछि उहाँले राजनीतिमा मन लगाउनु भएन । रेग्मीको मन वैदेशीक रोजगारतर्फ मोडियो । उता पनि खासै जम्न नसकेपछि उहाँ स्वदेश नै फर्किनुभयो ।

रेग्मी अहिले व्यावसायिक किसानको रुपमा स्थापित हुनुभएको छ । वडा सदस्य रहँदै गर्दा २०७५ मा गैँडाकोट–१८ बसेनीमा केही जग्गा लिएर फलफूल खेत सुरु गर्नुभएका उहाँले टीकारत्न टुल्की कृषि फार्म दर्ता गर्नुभयो । रेग्मी व्यावसायिक किसान बन्नुका पछाडि उहाँले विदेशमा देखेसिकेको कुरा नै मुख्य हो ।

“दुईपटक कतार गएँ, त्यहाँ पुग्दा एभोकाडो खाए । तर, त्यसको स्वाद पाइनँ”, रेग्मीले भन्नुभयो, “त्यसपछि अष्ट्रेलिया गएँ, त्यहाँ पुग्दा छोरीहरुबाट एभोकाडोको बारेमा र गुणको बारेमा जान्ने अवसर पाएँ ।” एभोकाडो चिसो ठाउँमा हुन्छ भन्ने थाहा पाएपछि नेपाल फर्किएर गैँडाकोट–१८ मा जग्गा किनेको रेग्मीले सुनाउनुभयो । “चिसो हावापानी भएको ठाउँ हो, १३ रोपनी १४ आना जग्गा खरिद गरेँ ।”, उहाँले भन्नुभयो ।”

दश बोट सुन्तलाबाट पन्ध्र सय

विसं २०७५ मा १० बोट सुन्तला लगाउनुभएका रेग्मीको फार्ममा अहिले १५ सय सुन्तलाका बोट छन् । उहाँले फलफूल खेती गर्न सुरु गर्दा जिल्लामा उन्नत जातका कागती र सुन्तलाका बिरुवा पाइँदैनथे । धनकुटाको पारी पात्ले पुगेर कागतीको बिरुवा लिएर आएको भन्दै रेग्मीले कागतीको बिरुवासँगै १० ठूला सुन्तलाको बिरुवा पनि लिएर आएको अनुभव सुनाउनुभयो ।

“सुरुमा १० सुन्तला र चार सय कागतीबाट फलफूल खेती सुरु गरेँ”, उहाँले भन्नुभयो, “विसं २०७६ बाट सुन्तला थप्न सुरु गरिएको हो, अहिले डाँडाभरि सुन्तला छन् ।” अहिले रेग्मीको फार्ममा सुन्तलाको एक हजार पाँच सय बोटबिरुवा, कागतीका नौ सय, निबुवाका तीन सय, मौसमका दुई सय, किन्नुका (माघको अन्तिमतिर पाक्ने फलफूज प्रजाति) एक सय, आँखे टिमुरका एक सय, लप्सीका ६० बोटबिरुवाका साथै स्याउ, किबी, आँप, लिची र एभोकाडोसहितका फलफूलका बोटबिरुवा छन् । उहाँको फार्ममा सुरुआती समयबाट अहिलेसम्म सबै गरी रु दुई करोड ५० लाख बढी लगानी भइसकेको बताउनुभयो ।

आम्दानी लिन सुरु

रेग्मीले फार्ममा लगाउनुभएको फलफूलका बोटबिरुवाले गत वर्षदेखि आम्दानी दिन सुरु गरेका छन् । “गत वर्ष फलफूल बिक्रीबाट रु दुई लाख जति आम्दानी गरेकामा अहिले रु १० लाख जति आम्दानी होला”, उहाँले भन्नुभयो, “अझै केही फलफूल टिप्न बाँकी छन्”, फलफूलका बिरुवाबाट अर्को साल रु २० लाखभन्दा बढीको आम्दानी हुने अपेक्षा गरेको भन्दै रेग्मीले भन्नुभयो, “अब फलफूलबाट हुने आम्दानी बढ्दै जान्छ ।”

यस वर्ष सुन्तलाको चार सय बोटबाट मात्रै आम्दानी भएको भन्दै उहाँले आगामी वर्षबाट करिब एक हजार सुन्तलाको बोटले आम्दानी दिन सुरु गर्ने बताउनुभयो । “अब करिब पाँच सय बोट कागतीले आम्दानी दिन सुरु गर्ला कागतीले पनि अहिलेको भन्दा दोब्बर आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । यस वर्ष सुन्तला, कागती, निबुवा, टिमुरलगायतका बोटबाट आम्दानी लिन सुरु भएको छ ।

Facebook Comments Box